समायोजन हुने अवस्थाको विद्यालयलाई पुरस्कार

954
views

दिपसागर पौडेल
पर्वत, ११ असार । शिक्षक, विद्यार्थी, अभिभावक सबैको मिहेनत हुने हो भने नराम्रोलाई पनि राम्रो बनाउन सकिन्छ भन्ने उदाहरण यहाँको एक विद्यालयले देखाएको छ ।

कुनैबेला विद्यार्थी अभावमा परेका विद्यालयहरुलाई मर्जको हुरी थेग्न निकै हम्मे हम्मे परेको थियो । जिल्लाका धेरै विद्यालयहरु मर्ज भएका थिए । तर, मर्जमा पर्ने अवस्थामा पुगेको कुश्मा नगरपालिका–७ स्थित श्री खरेहा प्राविले भने मर्ज हैन पुरस्कारमा दर्ज गराएरै छाडेको छ ।

विद्यार्थी नहुँदा मर्जको अवस्थामा पुगेको सो विद्यालयले पढाईमा गुणस्तर कायम गरेपछि नीजि विद्यालयका विद्यार्थीहरु समेत सोही विद्यालयमा फर्के ।

कक्षा ५ सम्मको पढाई हुने उक्त विद्यालयमा विद्यार्थीहरुको चाहना अनुसारको पठनपाठन गराउन थालेपछि विद्यार्थीहरु फर्केका हुन् । अहिले विद्यार्थीहरुको वृद्धिसँगै सो विद्यालयलाई कुश्मा नगर शिक्षा शाखाले पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक नारायण गिरीले बताए ।

विद्यालयमा गुणस्तर कायम गरी विद्यार्थी फर्काउन सफल भएको भन्दै वार्षिक पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा कुश्मा नगरपालिका–७ का कार्यवाहक वडा अध्यक्ष परशुराम पुरीले विद्यालयको शैक्षिक स्तर उन्नतिका लागि आफु सँधै तत्पर रहेका बताउँदै जेहेन्दार, प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । पुरीले विद्यालयका लागि आवश्यक भवन निर्माणका लागि रकम विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालय कार्यदलका सदस्य डिल्लीराम शर्माले हिजोका दिनमा मर्जको अवस्थामा पुगेको यस विद्यालयले आज पुरस्कृत हुन सफल भएकोमा खुसी व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा हेम स्मृति कोषका अध्यक्ष लाल प्रसाद शर्मा, कोषका संरक्षक वालकृष्ण शर्मा, वडा नं ७ का महिला सदस्य कमला श्रेष्ठ, शिक्षाविद् लक्ष्मी प्रसाद शर्मा, भूतपूर्व विद्यार्थीका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले विद्यालयका जेहेन्दार तथा विपन्न परिवारका विद्याथीहरुलाई हेम स्मृति अक्षयकोषबाट विद्यार्थीलाई एक वर्षलाई पुग्ने स्टेशनरीका सामाग्री, पोशाक र झोला वितरण गरेका थिए ।