केसीको समर्थनमा अर्धनग्न प्रदर्शन, कर्णालीका चिकित्सकद्वारा सेवा ठप्प

1249
views

पर्वत, १९ असार । चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृतिविरुद्ध वर्षौँदेखि लडिरहेका प्रा.डा. गोविनद केसीले उठाएका मागको समर्थनमा जुम्ला सदरमुकाम खलंगामा आज अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ ।

जुम्लामा नै अनशन बसिरहेका केसीको समर्थनमा डा. केसीको माग पूरा गर्नुपर्ने भन्दै कर्णालीका चिकित्सकहरुले समेत आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प गर्दै डाक्टर र नर्स अनि कर्मचारीहरु डा. केसीको अनसन स्थल पुगेका छन् ।

डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने तयारी भएको थियो । तर प्रशासनले बस्न नदिएपछि पानी चुहिने कभर्ड हलमा उनको अनसन जारी छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (मसाल) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले डा. गोविन्द के.सी.को अनसन र उनको स्वास्थ्य प्रति गम्भीर चिन्ता प्रकट गरेको छ ।

उनलाई जुन अवस्थामा गिरफ्तार गरियो र जुन अवस्थामा राखिएको छ, त्यो अत्यन्त गैरजिम्मेवार र अमानवीय कार्य भएको पार्टीले ठहर गरेको छ । प्रा. डा. गोविन्द केसी हिरासतमा अनशन बसिरहेका छन् ।