अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

939
views

अजय पौडेल, चितवन– २६, नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटले सोमबार एक कार्यक्रमका बीच अनुभव आदानप्रदान सम्पन्न गरेको छ ।

नेपालको कृषि क्षेत्रको विकासमा लामो समयदेखि क्रियाशील क्यालिफोर्निया स्टेट युनिभर्सिटी अमेरिकाका प्रोफेसर ली अल्टियर र कृषि तथा वन विज्ञान अध्ययन संस्थान रामपुरका बागवानी विभाग प्रमुख डाक्टर विशाल श्रेष्ठको टोलीसँग भेट गरिएको हो । कार्यक्रममा प्रोफेसर ली ले विगत ३६ वर्षको अन्तरालमा नेपालमा धेरै परिवर्तन भएको अनुभूति प्रस्तुत गर्नुभएको थियो । खाशगरी उत्पादनशील भूमि नष्ट गर्दै भवन निर्माण गर्ने परिपाटी आफैंमा त्रुटिपूर्ण रहेको कुरामा उहाँको जोड थियो । उहाँले नेपाल र अमेरिकन खेतीबाली प्रणालीको वास्तविक स्वरुप प्रस्तुत गर्दै प्रांगारिक उत्पादनमा जोड दिनुपर्ने कुरा बताउँदै बाली लगाउँदा बाली चक्र प्रणालीको प्रयोग गर्नुपर्ने, रासायनिक औषधीको सट्टा निमको पाउडर, साबुनको झोल वा सूक्ष्म जीवाणुको प्रयोग गर्न सके धेरै लाभदायक हुने बताउनु भयो । एक फरक प्रसङ्गमा उहाँले अमेरिकामा गाईवस्तुलाई समेत प्रांगारिक उत्पादन खुवाउने प्रचलन बढ्दै गएको बताउनुभएको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटा प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले गैंडाकोट नगरपालिकाभित्रका खेतीयोग्य जग्गामा भवन बन्दै जानु आफैंमा त्रुटिपूर्ण भएको हुँदा यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । आधुनिक कृषि पद्धतिमा जोड दिंदै कृषि उत्पादन बढाउन नगरपालिकाले आगामी दिनहरुमा विशेष कार्यक्रम सञ्चालन गर्नेसमेत उहाँले बताउनु भयो । कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटा, मौलाकालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काशीनाथ कंडेल, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका प्रमुख डा. संग्राम पुरी, सहमति संस्थाका पूर्व अध्यक्ष एवम् चित्रकार भीमप्रसाद शर्मा, विकू साकोसका सचिव गोविन्द रिमाल, समाजसेवी टोलनाथ घिमिरे, युवराज रिमाल, टंक प्रसाद शर्मा चापागाई, साहित्यकार कपिल अज्ञात, भूमिश्वर सापकोटा लगायतको उपस्थिति थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष डि.आर. पोखरेलको सहजीकरणमा सम्पन्न भएको थियो ।