५६ करोडको आँपको व्यापार, दुई करोड ८० लाख केजी आँप उत्पादन

1241
views

सप्तरी । यस वर्ष सप्तरीमा ५६ करोड रुपियाँ बराबरको आँपको कारोबार भएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका अनुसार जिल्लामा कुल २८ हजार मेट्रिक टन (दुई करोड ८० लाख केजी) आँप उत्पादन भएको छ । प्रतिकेजी सरदर २० रुपियाँका दरले करिब ५६ करोडको आँपको कारोबार भएको कार्यालय प्रमुख भागिरथ यादवले बताउनुभयो ।

उहाँले एकैपटक आँप उत्पादन भएको र सहज तथा व्यवस्थित बजार नहुँदा आँपको भाउ सस्तो भएको बताउनुभयो । अघिल्ला वर्षमा प्रतिकेजी सरदर ५०–६० रुपियाँ केजीमा बिक्री हुने आँप यस वर्ष १५ रुपियाँ केजीसम्म बिक्री गर्नुपर्दा कृषक मार परेको उहाँले बताउनुभयो ।

सरकारीस्तरबाट आँपको बजार व्यवस्थापनका लागि खासै प्रक्रिया अघि नबढेको र आँप प्रशोधन गर्ने उद्योग पनि नभएकाले हरेक वर्ष आँपका कृषक समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो ।

सप्तरीमा सात हजार हेक्टर क्षेत्रफलमा आँप खेती गरिएकोमा पाँच हजार हेक्टरमा मात्रै आँपको फल लागेको थियो । जेठ महिनामा आएको असिना र हावाहुरीका कारण तिरहुत गाउँपालिका, कञ्चनरुप, सप्तकोसी नगरपालिकामा क्षति पुगेको हुँदा सरदर तीन हजार पाँच सय हेक्टरमा मात्रै आँप उत्पादन भएको कार्यालयले जनाएको छ ।

एक अर्ब ४८ करोड ६४ लाख रुपियाँ बराबरको आँप उत्पादन हुने अनुमान गरिए पनि विभिन्न कारणले उत्पादन क्षेत्रफल घटेकाले अपेक्षा अनुसार कारोबार नभएको प्रमुख यादवले बताउनुभयो गत वर्ष सात हजार हेक्टर आँपको बगैँचामा २० हजार टन मात्र आँप उत्पादन भएको थियो ।

कञ्चनरुपदेखि वलानसम्मको पूर्व–पश्चिम राजमार्ग आसपासमा बढी आँप खेती हुने गरेको छ । श्रीपुर, मधुपट्टी, मलहनिया, हरिहरपुर, प्रसवनी, शम्भुनाथ, वकधुवा, महुली, जन्डोल, मैनाकडेरी, रुपनगरलगायतका स्थानलाई आँपको पकेट क्षेत्र मानिन्छ । सप्तरीमा मालदह, बम्बई, दसहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँपको खेती हुने गरेको छ ।