प्रधानमन्त्री ओलीको कविता, ‘मरेपछि पनि सपना देख्न पाऊँ’

1080
views

काठमाडौँ, असार ३१  चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता लेखेका छन् । आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका हुन् ।

आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै उनले आइतबार सहभागीको आग्रहमा उक्त सात मिनेट लगाएर दस लाइनको कविता रचिएको बताए। प्रधानमन्त्री ओलीले आफू कवि नभएको जिकिर गरे।
प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको “खर्पन” कविता केही वर्षअघि सार्वजनिक भएको थियो। उनले जेल जीवनमा धेरै कविता र गीत लेखेको भए पनि तिनको संरक्षण गर्न नसकिएको बताउँदै आएका छन्।
हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५ औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज चन्द्रागिरिमा सम्पन्न समापनसभामा सो घोषणापत्र जारी भएको हो।
त्यसप्रकारको सांस्कृतिक संग्रहालय बनाउन नेपाल सरकारले सम्बन्धित समुदायसँग सहकार्य गरी तत्काल कार्य आरम्भ गर्न सम्मिलनले ध्यानाकर्षण गराएको छ।
‘हिमवत् खण्ड कला साहित्य र संस्कृति, विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ को उद्घोषसहित आयोजित सम्मिलनमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमवत् खण्ड संसारको गौरव भएकाले यस भूखण्डमा संसारका १००० भन्दा बढी बोलिने भाषा, यसको प्रकृति, संस्कृति तथा उच्च मानवीय मूल्यको संरक्षण गर्न सङ्कल्प गरेको छ।
यस प्रकारको सम्मिलनलाई निरन्तरता दिन आवश्यकताअनुसार पालैपालो विभिन्न क्षेत्रमा आयोजना गरी आपसी हार्दिकतालाई अरु प्रगाढ बनाउने एवं हिमवत् खण्डको वैभवलाई विश्वव्यापीकरण गर्ने प्रतिबद्धतासमेत गरिएको छ।
घोषणापत्र तयारी समितिका संयोजक प्रा केशव सुवेदीले घोषणापत्र प्रस्तुत गर्दै हिमवत् खण्ड एशियाली भेगबाट सिर्जित वैदिक, ताओ तथा बौद्ध वाङ्मय, ज्योतिष विज्ञान, योग एवं आयुर्वेदले यस भेगको चेतनालाई सदैव उँचो पार्दै आएको तथ्यलाई स्वीकार गर्दै ज्ञान तथा चेतनाका ती गौरवशाली परम्परालाई अझ परिष्कृत र परिमार्जित गर्ने प्रस्ताव पारित भएको बताए।
सम्मिलनले नेपालको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहु सांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै यहाँ बोलचालमा रहेका १२३ भाषा तथा तिनसँग जोडिएका संस्कृतिको जीवन्ततालाई आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक ठानेको छ।
विद्यमान कर्पोरेट विश्वमा प्रविधि उपयोगको नाममा मानवशक्तिलाई विस्थापन गरी रोजगारीको अवसर गुमिरहेको भन्दै सम्मिलनको घोषणापत्रमा भनिएको छ, “मेसिनले मानवशक्तिलाई विस्थापन गर्ने तर थप रोजगारी सिर्जना नगर्ने नाफाखोर प्रवृत्तिको घोर भत्र्सना गर्दै काम गरेर जीवन निर्वाह गर्नुपर्ने वर्गको रोजगारी सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गर्दछ।”