उपराष्ट्रपति राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिता आजदेखि

1249
views

काठमाडौं । उपराष्ट्रपति राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिता आजदेखि हुने भएको छ । सातदोबाटोस्थित एन्फा परिसर मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो १ बजे नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लव भिड्ने छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा सशस्त्र प्रहरी, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौं जिल्ला फुटबल संघ र रौतहट जिल्ला फुटबल संघ गरी पाँच टिमको सहभागिता रहेको छ ।

आगामी साफ च्याम्पियनसिप महिला फुटबललाई केन्द्रीत गरेर हुन लागेको प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा हरेक विधाका उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउने छन् । तयारीका लागि प्रत्येक टिमले ५० हजार रुपैयाँ पाउने छन् भने हरेक खेलबापत १० हजार रुपैयाँ थप दिइने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । प्रतियोगिता साउन १५ गतेसम्म चल्नेछ ।