पाक निर्वाचनले के अर्थ राख्छ ?

749
views

स्लामाबाद, ७ साउन । हिंसा र राजनीतिक विवादबीच दशौँ लाख पाकिस्तानी नागरिक बुधबार आमनिर्वाचनमा सहभागी हुँदै छन् । करिब २० करोड जनसंख्या भएको पाकिस्तानको आमनिर्वाचन दक्षिण एसियामा नै महत्वपूर्ण चासोको विषय बनेको छ ।

सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–एन) र सेनाबीचको विवाद, सैनिक हस्तक्षेपको त्रास र अतिवादीको शृंखलाबद्ध हिंसात्मक घटनाका कारण यो निर्वाचन पाकिस्तानकै इतिहासमा सबैभन्दा बढी विवादित बनेको छ ।

किन महत्वपूर्ण छ निर्वाचन ?

सन् १९४७ मा स्वतन्त्रत भएपछि पाकिस्तान बारम्बार सैन्य शासनको चक्रव्यूहमा फसेको छ । पाँच वर्षे पूर्ण कार्यकाल पूरा गरी एउटा नागरिक सरकारले अर्को सरकारलाई सत्ता हस्तान्तरण गर्ने भएकाले यो निर्वाचनको ऐतिहासिक महत्व छ ।

तर, सत्तासीन पाकिस्तानी मुस्लिम लिग नवाज (पिएमएल—एन) र राष्ट्रिय सेनाबीचको टकराबले निर्वाचनअघि तनाव बढेको छ । अदालतको सहयोगमा सेनाले आफ्नो पार्टीपंक्तिमाथि शृंखलाबद्ध हमला गरेको पिएमएल—एनले आरोप लगाएको छ ।

निर्वाचनसम्बन्धी आचारसंहिता उल्लंघन गरेको भन्दै सेनाले सो पार्टीका झन्डै १७ सय नेता कार्यकर्ता्विरुद्ध आपराधिक मुद्दा दायर गरेको छ । जारी निर्वाचनमा केही लडाकु समूहको सहभागितालाई लिएर केही पाकिस्तानीको चासो बढेको छ ।

सेनाले पुरानो राजनीतिक संयन्त्रमा विश्वास गर्ने राजनीतिक दल र उम्मेदवारलाई ‘फेभर’ गरेको धेरैको विश्वास छ । निर्वाचनलाई तोडमोड गर्न र प्रजातन्त्रको हत्या गर्न आक्रामक र डरलाग्दो प्रयास भइरहेको पाकिस्तानको मानवअधिकार आयोगले जनाएको छ ।

हिंसात्मक र शृंखलाबद्ध हमलाले निर्वाचनलाई असर गरेको छ । बलुचिस्तानमा १३ जुनमा अतिवादी मुस्लिम समूहले गरेको हमलामा १ सय ५० भन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि पनि निरन्तर निर्वाचनलक्षित आक्रममण भएका छन् ।

कुन पार्टी कहाँ लोकप्रिय ?

पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल— नवाज) को पन्जाब प्रान्तमा बलियो पकड छ । पन्जाब पूर्वप्रधानमन्त्री सरिफको गृहनगरसमेत हो । यस प्रान्तमा देशकै धनाढ्य र प्रख्यात मानिस बस्छन् ।

नेसनल एसेम्बलीमा प्रत्यक्ष निर्वा्चित हुनेमध्ये आधाभन्दा बढी सदस्य यस क्षेत्रबाट निर्वाचत हुने भएकाले पन्जाब निर्वाचनको मुख्य केन्द्र बनेको छ । पार्टीलाई विजयी बनाउन पूर्व्क्रिकेटर इमरान खानको पाकिस्तान तेहरिक–ई– इन्साफ पिटिआईले यस प्रान्तमा विशेष प्रयत्न गर्नुपर्छ ।

सन् २०१३ को निर्वाचनमा पिटिआईले खैबर पाकहुन्कवामा राम्रो सिट ल्याएको थियो । विश्लेषकहरूका अनुसार बिलवाल भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) ग्रामीण क्षेत्रमा लोकप्रिय छ । सो पार्टीका मतदाताको मुख्य आधार सिन्धु प्रान्त हो ।

निर्वाचनका मुख्य तीन खेलाडी

नवाज सरिफ
तीनपटक प्रधानमन्त्री भएका नवाज सरिफलाई भ्रष्टाचार आरोपमा गत वर्ष अदालतले कुनै पनि सार्वजनिक पदमा रहन अयोग्य रहेको फैसला गरेको थियो । ६८ वर्षीय सरिफ चर्चित पानामा पेपर्स काण्डमा समेत जोडिएका थिए ।

क्यान्सरग्रस्त पत्नीको उपचारका लागि लन्डन पुगेका सरिफ दुई साताअघि छोरी म्यारियामसँगै नाटकीय रूपमा स्वदेश फर्किएका थिए । उनलाई अदालतले १० वर्ष जेल सजाय सुनाएको थियो ।

देशको ढुकुटी खर्च गरी बेलायतमा सुविधासम्पन्न फ्ल्याटलगायत अकुत सम्पत्ति जोडेको आरोपमा बाबु–छोरी अहिले जेलमा छन् । तर, उनीहरूले जेलभित्रैबाट चुनावलाई प्रभावित बनाएका छन् ।

सेनाको आलोचना गरेकाले आफूविरुद्ध पाक सेनाले प्रतिशोध लिएको उनले आरोप लगाएका छन् । तर, सरिफको पतनमा आफ्नो कुनै भूमिका नभएको सेनाले जनाएको छ ।

नवाजका भाइ सहबाज सरिफले पिएमएल—एनको निर्वाचन अभियानको नेतृत्व गरेका छन् । सहबाज निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाउमा छन् । देशभर सेनाले हस्तक्षेप गरेको र पार्टीका नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै निर्वाचन निष्पक्ष हुनेमा उनले शंका गरेका छन् ।

इमरान खान
दुई दशकअघि पाक राजनीतिमा प्रवेश गरेका पूर्व क्रिकेटर इमरान खान निर्वाचनका अर्का महत्वपूर्ण खेलाडी हुन् । उनी पाकिस्तानी सेनाको रोजाइको उम्मेदवार भएको धेरैले आरोप लगाएका छन् । सेनाले खानका प्रतिद्वन्द्वीहरूलाई अवमूल्यन गरेको आरोप लागेको छ ।

खानले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सेनाको मन रिझाउने काम गरेका छन् । एक प्रसंगमा उनले भनेका छन्, ‘वर्तमान सेनाप्रमुख जन बजवा अहिलेसम्मकै हामीले देखेकामध्येका सबैभन्दा प्रजातान्त्रिक व्यक्ति हुन्,’ उनको पार्टी पिटिआईलाई अलकायदाआबद्ध विवादास्पद र अतिवादी समूहहरूले समेत समर्थन गरेका छन् । अहिले संसद्मा पिटिआईको ३२ सिट छ । पिपिपीको अहिले संसद्मा ४६ सिट छ ।

बिलवाल भुट्टो जर्दारी
भुट्टो वंशको विरासत थामेका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका पुत्र बिलवाल भुट्टो निर्वाचनका अर्का महत्वपूर्ण खेलाडी हुन् । २९ वर्षीय बिलवालकी आमा बेनेजिर र हजुरबाबु जुल्फिकर अली भुट्टो प्रधानमन्त्री बनेका थिए ।

दुवैको राजनीतिक हत्या भएको थियो । पहिलोपटक संसद्मा प्रतिस्पर्धा गर्न लागेका युवा नेता बिलवाल आफ्नी आमाको ‘शान्ति, प्रगति, समृद्धि र प्रजातान्त्रिक पाकिस्तान भिजन’ कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै आएका छन् । निर्वाचनपछि पिपिपी तेस्रो दल हुने निर्वाचनपछिका सर्वेक्षणहरूले देखाएका छन् । एजेन्सी