जापानमा अत्यधिक गर्मी, दुई सातामा ४४ को मृत्यु

860
views

टोकियो, ८, साउन । जापानमा अत्यधिक गर्मीका कारण दर्जनौं मानिसको ज्यान गएपछि अधिकारीहरूले सुरक्षित रहन चेतावनी जारी गरेका छन् । जापानी समाचार संस्था क्योडोका अनुसार दुई सातायता बढेको गर्मीका कारण ४४ जनाको ज्यान गइसकेको छ ।

अधिकारीहरूले देशभरका मानिसलाई सावधान रहन चेतावनी जारी गरेका सीएनएनले जनाएको छ । गर्मीसँग जोडिएका स्वास्थ्य समस्याको उपचार गराउन हजारौं मानिस अस्पताल पुगेका छन् ।

सोमबार राजधानी टोकियोको तापक्रम ३८ डिग्री सेन्टिग्रेट पुगेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नजिकैको सहर कुमागयाको तापक्रम वर्षकै अधिकतम अर्थात् ४१ दशमलब १ डिग्री पुगेको छ । जापानी जलवायु संस्थाका अनुसार यसअघि सन् २०१३ मा कोची सरहको तापक्रम ४१ डिग्री पुगेको थियो ।

कम्तीमा आधा दर्जन सहरको तापक्रम ४१ डिग्री नाघेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । टोकियो सहरका गभर्नर युरिको कोइकेले ‘सौना लिएजस्तो अनुभव हुन थालेको’ बताइन् । उनी टोकियोका सडकमा चिसो पानी बाँडिरहेकी देखिन्थिन् । होन्सु, सिकोकु, कयुसु र हकाइडो टापुको तापक्रम पनि ३५ डिग्रीभन्दा बढी हुनसक्ने मौसमविद्हरूले जनाएका छन् ।

क्योडोका अनुसार अत्यधिक गर्मीका कारण कम्तीमा १० हजार मानिस बिरामी परेपछि अस्पताल र्पुयाइएको छ । शिक्षा मन्त्रालयले स्कुललाई उच्च गर्मीबाट जोगिन सक्दो उपाय अपनाउन निर्देशन जारी गरेको छ । ‘अत्यधिक तापका कारण बिरामी पर्ने सम्भावना सामान्यभन्दा निकै उच्च छ,’ क्योडो समाचारले स्थानीय मौसमविद्लाई उल्लेख गर्दै जनाएको छ । अधिकारीहरूले बढ्दो तापक्रमबाट बच्न पूर्वतयारी गर्न तथा प्रत्यक्ष घामबाट बच्न निर्देशन दिएका छन् ।

जल तथा मौसमविद् जोयल एन मेयर्सले ‘मृतकहरूको संख्या सरकारी तथ्यांक बढी भएको’ दाबी गरे । उनले आगामी दिनमा अझै तापक्रम बढ्ने भएकाले थप मानिसको मृत्यु हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘अत्यधिक तापक्रमका सर्वसाधारणमा थकान, पानीको कमी, टाउको दुख्ने, अनिद्रा, मनस्थिति परिवर्तन जस्ता समस्या देखिन थालेको छ,’ मेयर्सले भने । उनले विगतका वर्षहरूमा खासै तापक्रम नबढ्ने देशका कतिपय स्थानमा एसीको ब्यवस्था नभएकाले मानिस थप समस्यामा पर्ने गरेको जनाए । जापानमा यसै महिनाको सुरुमा भएको ठूलो वर्षाका कारण उत्पन्न बाढी र पहिरोले २ सयभन्दा धेरैको ज्यान गएको थियो । बीबीसी