उपराष्ट्रपति राष्ट्रिय लिग महिला फुटबलमा आर्मी र रौतहटको विजयी सुरुआत

916
views

काठमाडौं, साउन ७ । त्रिभुवन आर्मी क्लबले उपराष्ट्रपति राष्ट्रिय लिग महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा परिसर मैदानमा भएको उद्घाटन खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १–० ले हरायो । खेलको ८१औं मिनेटमा शर्मिला थापाले आर्मीका लागि निर्णायक गोल गरिन् । ‘प्लेयर अफ दी म्याच’ पनि थापा नै भइन् ।

सोमबारै भएको दोस्रो खेलमा रौतहट जिल्ला फुटबल संघले काठमाडौं जिल्ला फुटबल संघलाई पराजित गरेको छ । रौतहट ४–० ले विजयी भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार जारी प्रतियोगितामा सशस्त्र प्रहरी, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौं जिल्ला फुटबल संघ र रौतहट जिल्ला फुटबल संघ गरी पाँच टिमको सहभागिता रहेको छ ।

आगामी साफ च्याम्पियनसिप महिला फुटबललाई केन्द्रित गरेर भएको प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा हरेक विधाका उत्कृष्टले जनही १० हजार रुपैयाँ पाउनेछन् ।