गोताखोरको टोलीले निकाल्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको शव

686
views

सोलुखुम्बु । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीमध्ये एकको शव सशस्त्र प्रहरीको गोताखोरको टोलीले निकालेको छ । काठमाडौंबाट हेलिकोप्टरमा मंगलबार सोलुखुम्बु ओर्लिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालको २५ मिटर गहिरो स्थानबाट ती विद्यार्थीको शव निकालेको हो ।

तीनमध्ये एक विद्यार्थीको शव निकालिए पनि उनको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता तीन विद्यार्थीको खोजी थालेका थिए ।

खुम्बुपासाङल्हामु गाउँपालिकाका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार अहिले सशस्त्र प्रहरीका ५, नेपाली सेनाका ५ र नेपाल प्रहरीका ५ जनाको टोलीले डुबेका विद्यार्थी खोजिरहेका छन् ।

सार्वजनिक विदा भएपछि गत शनिबार घुम्ने क्रममा गोक्यो हिमताल पुगेका खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थीमध्ये तीनजना गोक्यो तालमा पौडी खेल्दा डुबेका थिए ।