सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा

915
views

काठमाडौं । अमेरिकाकी सेरेना विलियम्स युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । छ पटक युएस ओपनको उपाधी हात पार्न सफल सेरेनाले इस्टोनियाका काइया कानेपीलाई ६–०, ४–६ र ६–३ को सेटमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।

सेरेनालाई यो खेल जित्न ९७ मिनेटसम्मको समय लागेको थियो । पहिलो राउण्डमा विश्व नम्बर वन महिला टेनिस खेलाडी सिमोना हलेपलाई हराएकी कानेपीले राम्रो प्रदर्शन गर्दागर्दै पनि क्वाटरफाइनलमा पुग्न सकिनन् ।

यसैगरी पुरुषतर्फ विश्व नम्बर एक नाडालले जर्जियाका निकोलोजमाथि चार सेटको संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरे ।

तीन घण्टा २० मिनेटसम्म चलेको खेलमा नाडालले पहिलो र दोस्रो सेट समान ६–३ ले जिते ।

तर तेस्रो सेट टाइब्रेकरमा ६–७ ले गुमाएका नाडालले चौथो सेट ६–४ ले जित्दै क्वाटरफाइनलमा पुगे । अब क्वाटरफाइनलमा नाडालले डोमिनिक थिमसँग खेल्ने छन् ।