ठूलो परिमाणमा सुनचाँदी र नगद बरामद

866
views

चितवन भदौ २० अवैध सुनको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा नं प्रदेश ३ का प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले नारायणगढको पुतलीबजारबाट ठूलो परिमाणमा सुनचाँदी र नगद बरामद गरेको छ ।

भरतपुर १ स्थित पुतलीबजारमा बाबुरत्न खड्गीको घरका डेरा गरी बस्ने भारत महाराष्ट्र साङ्ली जिल्लाका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिलले सञ्चालन गरेको न्यू गणेश सुनचाँदी पसलबाट २ केजी ७६ ग्राम सुन, ४ केजी ६१७ ग्राम चाँदी र काँचो सुन बिक्रीबाट प्राप्त नगद १२ लाख रुपैयाँ बरामद गरिएको छ ।
क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको विषेश टोली र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालको कमाण्डमा खटिएको विशेष टोलीले खानतलासी गर्दा पसलमा लुकाई राखेको अवस्थामा सुनचाँदी र नगद बरामद गरिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त सुनचाँदी रसुवास्थित तिब्बत नाका हुँदै अवैधरूपमा भित्र्याइएको खुलेको छ । उक्त सुनचाँदी करिब १ करोडबराबरको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
राजेन्द्र शिवाजी विगत १० वर्षदेखि नारायणगढमा सुन बिक्री वितरण गर्ने र रिफाईनिङ गर्ने काम गर्दै आएका थिए । उनलाई भदौ १८ गते एक भारतीय नागरिकले उक्त सुनचाँदी ल्याइदिएको भन्ने खुलेको छ ।
बरामद गरिएको सुनचाँदी, नगद र निज पटेललाई प्रारम्भिक अनुसन्धानपश्चात भन्सार ऐन, २०६४ अनुसार विस्तृत अनुसन्धान र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, ललितपुरमा पठाइने प्रनाउ ढकालले जानकारी दिए । पाटिललाई पक्राउ गरी अवैध सुन तस्करी सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।