‘कोम्कासा’ सम्झौतालाई लिएर भारतभर विरोध

785
views

काठमाडौं, २४ भदौ । अमेरिका र भारतका बीचमा भएको ‘कोम्कासा’ सम्झौतालाई लिएर भारतभर विरोध भएको छ । भारतका देशभक्त तथा वामपन्थी शक्तिहरुले त्यसको विरोध गरेका छन् । उनीहरुका अनुसार ‘कोम्कासा’ भारतको अहितमा त छदैंछ, यसले छिमेकी देशहरुसँग भारतलाई अलग्याएर एक्लो पनि पार्ने छ ।

संझौताको विरोध गर्नेहरुले यसलाई अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेप र प्रधानमन्त्री मोदीको अमेरिकाको गुलामीका रुपमा लिएको बताइएको छ । उनीहरुका अनुसार मुस्लिम र वुद्धिज्मविरुद्ध इसाईहरुले कथित ‘मोदी हिन्दुत्व’ लाई साथमा लिएर लड्दै र लडाउँदै गर्न थालेका छन् । पोम्पेओले पाकिस्तानलाई चिढ्याएर भारतलाई उपयोग गर्ने नीति लिएको भनी वौद्धिक वर्गले विरोध गरेको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले अमेरिकाको नांगो दलाली गर्दै ‘राष्ट्रपति ट्रम्पको दक्षिण एशियासम्बन्धि नीतिलाई भारतले खुलेर समर्थन गर्दछ’ भन्ने अभिव्यक्ति दिएपछि भारतभर हंगामा मच्चिएको छ । स्वराजका अनुसार अमेरिकी प्रविधि सहयोगपछि पाकिस्तानबाट हुने गरेको सीमापार आतंकवादका विरुद्ध लडेर परास्त गर्न सजिलो हुने छ । स्वराजले त यतिसम्म पनि भनिन् कि यो संझौताले भारतले रसियाबाट किन्दै गरेको एस्–४०० हवाइ प्रतिरक्षा प्रणाली, जो अमरिकाले रसियामाथि लगाइरहेको एकतर्फी नाकाबन्दीका विरुद्धमा पनि जाने थियो, को समस्यासमेत हल गरेर भारतलाई एक ठूलो कृपा र अनुकम्पा समेत् प्रदान गरेको छ ।

पत्रकारहरुले अमेरिकाले यस्ताखाले संझौताहरु गर्दा अरु देशको सार्वभौमसत्ता र स्वाधीनताको विषयलाई कसरी हेर्छ भनी तीखो प्रश्न गर्दा मेट्रिसले जवाफ दिएका थिए– ‘स्वतन्त्रताका कुरा गर्दा देशहरुले संझौता नै गर्दैनन् भन्ने हुँदैन, हामी एकअर्काका पार्टनर नै हुन सक्दैनौ भन्ने पनि हुँदैन र हामीले एकअर्काको सार्वभौमसत्ताको सम्मान गर्दैनौ भन्ने पनि हुँदैन ।’