तरुण दलका लिवाङ नगर प्रमुखको गोली हानी हत्या

957
views

रोल्पा भदौ–२५ रोल्पा नगरका कांग्रेसको युवा संगठन तरुण दलका लिवाङ नगर अध्यक्ष रोहित पुनको हत्या भएको छ ।

सुवर्णावती गाउँपालिकाको सुलिचौरस्थित एक स्थानीय रेष्टुरेन्टभित्र खाना खाइरहेका वेला आपसी विवाद हुँदा रोल्पा नगरपालिका धवाङका देवबहादुर घर्तीले पुनलाई गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार घटना दिउँसो ४ बजेतिरको हो । घटनापछि हतियार सहित रोल्पा नगरपालिका १० का देवबहादुर घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताउनुभयो ।

घटनालगत्तै पुगेको प्रहरीसमक्ष घर्तीले आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।मृतक पुन व्यक्ति हत्या आरोपमा जेल बसेका व्यक्ति हुन् भने घर्तीको नाम झैझगडामा जोडिइरहने गरेको छ । पुन र घर्तीको विवादको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको खड्काले बताए ।

कांग्रेसले पुनको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । तत्कालीन माओवादी केन्द्रका घर्तीमगरलगायतले गोली हानी पुनको हत्या गरेको भन्दै कांग्रेसले निन्दा र भत्र्सना गरेको छ ।
इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहे पनि हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद् रहेको कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ ।
तरुण दल केन्द्रले पनि सत्ताको आडमा आफ्ना कार्यकर्ताको हत्या भएको दाबी गर्दै हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ । महासचिव भूपेन्द्रजंग शाहीले आइतबार विज्ञप्ति जारी गर्दै सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले पुनको हत्या गरेको दाबी गरेका छन् ।
कांग्रेस रोल्पाले हत्याको कारण राजनीतिक भएको दाबी गरेको छ । जिल्ला सभापति अमरसिंह पुनले हत्या गर्ने देवबहादुरले पहिल्यैदेखि पार्टीको आडमा गुन्डागर्दी गर्दै आएको आरोप लगाए । उनले भने, ‘चुनावकै वेला हाम्रा कार्यकर्तालाई पिट्ने, धम्क्याउने गरेपछि प्रहरीमा रिपोर्टसमेत गरेका थियौँ, तर प्रहरीले समेत संरक्षण गर्दै आएको छ ।’ तत्कालीन माओवादी केन्द्रनिकट वाइसिएलमा संलग्न घर्तीलाई राज्यले संरक्षण गरेर गुन्डागर्दीमा प्रोत्साहन गरेको उनले आरोप लगाए ।
नेकपाका रोल्पा अध्यक्ष सुरेन्द्र थापाघर्तीले भने हत्याको कारण राजनीतिक नभएको बताए । ‘सत्य–तथ्य अझै बुझ्न बाँकी नै छ,’ उनले भने, ‘उनीहरू दुवै वेलावेला सुनिने नाम हुन्, यसलाई राजनीतिसँग जोड्न मिल्दैन ।’ राजनीतिक आस्था राखेकै आधारमा पार्टीको संरक्षण छ भन्नु मनासिब नहुने उनले बताए । आपराधिक क्रियाकलापमा संलग्न जो–कोहीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ ।