दक्षिण कोरियाका राष्ट्रपति मुन अमेरिका भ्रमण गर्दै

797
views

असोज, ७ गते । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाली नेता किम जोङ–अनसँग गत साता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मुनले अमेरिका भ्रमण गर्न लागेका हुन् ।

साथै, अमेरिकामा रहँदा राष्ट्रपति मुनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व समुदायसमक्ष अन्तर–कोरियाली शिखर बैठकका परिणामहरू जानकारी गराउने कार्यक्रम रहेको छ ।

‘राष्ट्रपति मुनले तेस्रो अन्तर–कोरियाली शिखर बैठकबारे विस्तृत रूपमा अमेरिकी राष्ट्रपति र विश्व समुदायलाई जानकारी गराउनेछन्,’ राष्ट्रपतिको सुरक्षा कार्यालयका वरिष्ठ निर्देशक नाम ग्वान–प्योले बताए । मुनले उत्तर कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनः शुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृत रूपमा छलफल गर्ने कार्यक्रम रहेको पनि नामले बताए ।

उत्तर कोरियाले व्यक्त गरेका प्रतिबद्धताबमोजिम आणविक निःशस्त्रीकरणका कार्यहरू नभएको भन्दै असन्तुष्टि जनाएको संयुक्त राज्य अमेरिकाले पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट स्थगित गरेको छ । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको पूर्वनिर्धारीत उत्तर कोरिया भ्रमणसमेत अन्तिम समयमा स्थगित गरिदिएका थिए ।

तर, मुन र किमले जारी गरेको संयुक्त वक्तव्यमा उत्तर कोरियाले डोङचाङ–रिस्थित क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रहार केन्द्रहरू बन्द गर्ने सहमति जनाएको छ । यही केन्द्रबाट लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सकिने र ती क्षेप्यास्त्रमा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ ।

अमेरिकाले सकारात्मक धारणा अघि सारे उत्तर कोरियाले योङब्योनमा रहेको मुख्य आणविक केन्द्रलाई बन्द गर्ने पनि प्रतिबद्धता जनाएको छ ।

मुनले उत्तर कोरियाली नेता किमलाई यसै बर्षभित्र सिओल भ्रमण गर्न आमन्त्रण गरेका छन् ।