पप्पुलाई ठेकदार सांसदको साथ

1392
views

काठमाडौं, ११, असोज । संसद्को विकास तथा प्रविधि समितिले नजिकिँदो चाडबाडका सन्दर्भमा यातायात व्यवस्थापन सम्बन्धमा भइरहेका कार्य र समस्याका विषयमा छलफल गर्न बुधबार बैठक गरेको थियो । बैठक सुरु हुनासाथ संघीय समाजवादी फोरमका सांसद हरिनारायण प्रसाद रौनियार (पप्पु कन्स्ट्रक्सनका सञ्चालक) बैठकका एजेन्डाबाहिर गएर गर्जन थाले । उनको उद्देश्य थियो पप्पुलाई बचाउने ।

विशेष समय लिएर बोल्दै उनले नामै लिएर केही सांसदले किटान गरेर आफू बिरुद्ध अभिव्यक्ति दिएको भन्दै आपित्त जनाए । उनले भने, ‘कुनै कम्पनी र त्यसले गरेका काम कारबाहीका सम्बन्धमा कुरा उठाउनु सामान्य हो । त्यसमा मेरो पनि आपत्ति हुन सक्दैन । तर कुनै एउटा खास पार्टीको माननीयले यो समितिमा हरिनारायण रौनियार सदस्य हुनु हुँदैन भन्नु अनुचित हो ।’

विकास निर्माणमा भएका ढिलासुस्तीका सन्दर्भमा समितिका सदस्यको अभिव्यक्ति भने जायज भएको उनले बताए । ‘कानूनमा जे लेखिएको छ, त्यही अनुसार हुन्छ । कानून हामीले नै बनाउने हो’, उनले भने, ‘अहिले मौजुदा कानून छ, त्यसलाई नहेरी एकजना माननीयले कुरा उठाउँदैमा हुन्न । पहिले हामीले कानून संशोधन गर्नुपर्छ । तब मात्रै कानूनअनुसार बोल्ने कुरा हुन्छ । तर विगत केही दिनदेखि संसद्देखि सडक र समितिसम्म निर्माण व्यवसायी मात्रै दोषी हुन भन्ने आरोप लागिरहेको छ ।’

ढिलो काम हुनुमा विगतका सरकार र सांसद नै ९० प्रतिशत दोषी भएको उनको आरोप छ । उनले भने, ‘१० लाख रुपैयाँ बजेट राखेर ५० करोडको ठेक्का लगाउने कानून बनाउने तिनै पुराना माननीय हुन् । अनि राज्यमाथि दायित्व बोकाउने विगतका सरकारलाई केही भन्नु नपर्ने ?’

विगतको सरकारले ठेक्का लगाएका १५ सय पुल निर्माणाधीन छन् । नौ सय पुल स्थानीय तहमा निर्माणाधीन छन् भने तीन सय राजमार्गमा निर्माणाधीन अवस्थामा छन् । अधिकांश पुल ठेकेदारका लापर्बाहीका कारण अलपत्र छन् । तर, रौनियार भने सरकारले बजेट नदिएकै कारण समयमा निर्माण सम्पन्न हुन नसकेको दाबी गर्छन् ।

‘तर रातो किताबमा पुलका लागि तीन अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको पाइन्न’, उनी भन्छन्, ‘यसपालिमा पनि दुई अर्ब ८६ करोड मात्रै पुलका लागि विनियोजन गरिएको छ । अनि निर्माण व्यवसायीले काम गरेन भनेर गाली मात्रै गरेर हुन्न ।’

उनलाई समितिका दुईजना सांसद बहादुरसिंह लामा र जिपछिरिङ लामाले पनि साथ दिएका थिए । उनीहरू पनि ठेकेदार सांसद नै हुन् । सांसद बहादुरसिंह लामाले रौनियारले पप्पु कन्स्ट्रक्सनको बचाउमा अभिव्यक्ति दिन पाउनुपर्ने धारणा राखे । यस्तै अर्का सांसद जिपछिरिङ लामाले ठेकापट्टाको विषयमा बोल्न सभापतिसँग समय माग गरेका थिए । तर, त्यस विषयमा बोल्न उनलाई दिइएन ।

बुधबारको समितिको बैंठकको एजेन्डा छुट्टै भएको भन्दै लामालाई समितिका सभापति कल्याणी खड्काले रोकेकी थिइन् । मंगलबारको बैठकमा पनि कतिपय सांसदहरूले पप्पु कन्स्ट्रक्सनलाई कारबाही गरिनुपर्नेमा राष्ट्र बैंकको भवन बनाउन जिम्मा दिएको भन्दै आपत्ती जनाएका थिए ।

सांसद दुर्गा पौडेलले विकास निर्माणका काम रोक्ने ठेकेदार विकास समितिमा किन भन्ने प्रश्न समेत गरिन् । यस्तै टोपबहादुर रायमाझीले त्यस्ता कम्पनीलाई कालो सूचीमा राख्न माग गरेका थिए । समितिको बैठकमा अन्य सांसदले दसैंको अग्रिम टिकट, सडकको अवस्था, लामो दुरुमा दुई चालक, ट्राफिक लाइटलगायत विषय धारणा राखेका थिए । अन्नपूर्ण पोष्टबाट