चिनीको मूल्य किलोमा १५ रुपैयाँ बढयो

977
views

मोरङ,१२, असोज । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य किलोको १५ रुपैयाँ बढेको हो । व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन् ।

संघीय सरकारको मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णयले चिनीको आयातमा असोज ४ गतेदेखि परिमाणात्मक बन्देज लगाएको छ । एक साताअघि किलोको ६५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ ।

विराटनगरसँगै जोडिएको भारतीय बजार जोगबनीमा प्रतिकिलो ५४ रुपैयाँमा पाइने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटले भने चिनीको मूल्य ५९ रुपैयाँ यथावत् राखेको छ । भाटभटेनीले प्रतिकिलो ५९ रुपैयाँको दरमा एक जना उपभोक्तालाई दुई किलो मात्रै चिनी बिक्री गर्दै आएको छ । यसअघि ५ किलोको दरले उपभोक्तालाई बिक्री गरिँदै आएको चिनी स्थानीय व्यापारीले खरिद गरेर महँगोमा बिक्री गर्न थालेपछि दुई किलोमा झारेको भाटभटेनी प्रशासनले जनाएको छ ।

स्थानीय शकुन्तलादेवी बस्नेतले जोगबनीमा दैनिक उपभोग्यका सामग्रीसँगै ५ किलो चिनी खरिद गरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर भन्सारमा खटिएका सुरक्षाकर्मीले खरिद गरेकै पसलमा चिनी फिर्ता गर्न लगाएको गुनासो पोखिन् । ‘विराटनगरमा ८० रुपैयाँ पर्ने चिनी जोगबनीबाट ५४ रुपैयाँमा ल्याउँदा प्रहरीले भित्र्याउन दिएनन्,’ उनले भनिन्, ‘किलोमा २६ रुपैयाँ सस्तो भएपछि जोसुकै खरिद गर्न लोभिन्छ तर प्रहरीले जबरजस्ती फिर्ता गर्न लगाउनु उचित भएन ।’

स्थानीय रामनरेश यादवले सरकारले चिनी आयातमा बन्देज लगाएपछि बजारमा भइरहेको अस्वाभाविक मूल्य वृद्धि रोक्ने हैसियत राख्नुपर्ने बताए । ‘बजार नियन्त्रण गर्न नसक्ने सरकारले कुनै पनि दैनिक उपभोग्य वस्तु आयातमा रोक लगाउनु जनभावनाविपरीत कार्य हो,’ उनले भने, ‘जनतालाई मार्ने र व्यापारी पोस्ने सरकारी नीति उचित होइन, सरकारले तत्काल बजार अनुगमन गरेर चिनीको बजार मूल्य नियन्त्रण गर्नुपर्छ ।’

‘यसअघि आयातकर्ताले थोक बिक्रेतालाई प्रतिकिलो ६१ रुपैयाँमा बिक्री गरिरहेको र हामीले ६३ मा ल्याएर ६५ देखि ६६ रुपैयाँमा बिक्री गरिरहेका थियौं,’ स्थानीय किराना पसल सञ्चालक राजु दाहालले भने, ‘अब आयातकर्ता नै ७० रुपैयाँमा बिक्री गर्न थालेका छन् भने थोक बिक्रेताले ७५ रुपैयाँ लिइरहेको अवस्थामा हामीले ८० मा नबेची सुखै भएन ।’

‘एकाएक बजारमा चिनीको मूल्य वृद्धि भयो,’ चिनी आयातकर्ता तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले भने, ‘चिनी आयात गर्ने बेलामा नै सरकारले भन्सार मूल्यमा वृद्धि गरेको परिणाम अहिलेको मूल्य वृद्धि हो ।’ प्रतिटन ३ सय ६० डलरमा आयात गरिने चिनीको भन्सार मूल्य सरकारले ४ सय ६० तोक्नुका साथै भन्सार महसुल १५ बाट ३० प्रतिशतमा वृद्धि गरेको थियो । आयातकर्ताको गोदामसम्म आइपुग्दा चिनीको मूल्य प्रतिकिलो ७१ रुपैयाँ परेको उनले बताए ।

चिनीको परिमाणात्मक बन्देज लगाउने बेलामा उद्यमीहरूले मूल्य वृद्धि नगर्ने वचनबद्धता सरकारसमक्ष गरेका थिए । भदौ ३१ को मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्षमा ९४ हजार टन मात्र चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । चिनी उत्पादक संघ र उखु उत्पादक संघको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारले परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको हो ।

स्वदेशी उद्योगबाट उत्पादित १ लाख ७८ हजार टनसहित ३ लाख ७८ हजार टन चिनी अहिले मुलुकभित्र रहेको सरकारी दाबी छ । जसमध्ये चिनी उत्पादकहरूले ५४ हजार टन बिक्री गरिसकेका छन् । चिनीको वार्षिक खपत २ लाख टन रहेको बोहोराले बताए । चिनीको मूल्य वृद्धिले सर्वसाधारणलेखि ठूला उद्योगसम्म प्रभावित भएका छन् । उपभोक्ताका साथै चिनी कच्चा पदार्थ हुने बिस्कुट, कन्फेक्सनरी, जुस, कोल्ड ड्रिंक्स, बेकरीलगायतका उद्योगको उत्पादन लागत स्वतस् बढ्ने भएको छ ।

विराटनगर भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा ७८ हजार ७ सय ६२ दशमलव ७ सय ९१ टन चिनी आयात भएको थियो भने चालु आर्थिक वर्षमा १ हजार ३ सय ७८ दशमलव १ सय ७७ टन चिनी आयात भएको तथ्यांक छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अनुगमन टोली खटिएको र कहीँकत्तै कसैले चिनी लुकाएको पाइए तत्काल कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । उनले सरकारले चिनी आयातमा बन्देज लगाएपछि व्यापारी तथा उपभोक्ता आत्तिएको अवस्था रहेकाले केही समस्या भएको तर नियमित बजार अनुगमन गरेर बजार मूल्य नियन्त्रण गर्ने सुनाए । कान्तिपुरबाट