प्रदेश ७ः नाम सुदूरपश्चिम, राजधानी गोदावरी

947
views

धनगढी– प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव प्रदेशसभाको दुईतिहाईले पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाको बहिष्कारका बाबजुद बसेको प्रदेश सभा बैठकको दुई तिहाई बहुमतले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी रहने निर्णय गरेको हो ।

प्रदेशको नाम र राजधानी निर्धारण गर्न नेकपाका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा प्रदेशसभाले गठन गरेको विशेष सुझाव समितिले ‘नाम सुदूरपश्चिम र राजधानी गोदावरी’ राख्ने सुझाव दिएको थियो ।

प्रदेश सभामा आज मतदानका लागि ११ बजे बोलाइएको पहिलो बैठक कांग्रेस र राजपाको अवरोधपछि १ बजेसम्मका लागि स्थगित भएको थियो । १ बजे बसेको बैठक कांग्रेस र राजपाले बहिष्कार गरेपनि स्थगित भएन ।

‘नाम सुदूरपश्चिम राजधानी गोदावरी’ राख्ने प्रस्तावको पक्षमा ३८ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ । ५३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ३९ जना, नेकाका १२ र राजपाका २ जना सांसद छन् ।