‘ए’ डिभिजन लिगः संकटा क्लब र सरस्वती युथ क्लबको प्रतिष्पर्धा

953
views

काठमाडौं, १४, असोज ।। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो खेलमा आज संकटा क्लब र सरस्वती युथ क्लब भिड्नेछन् ।

नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्डकप फुटबलमा सहभागि हुन बंगलादेश जानुअघि यो अन्तिम लिग खेल हुनेछ । पाँच वर्षपछि हिजो सुरु भएको लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लव र न्युरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलमा एनआरटीका लागि रोजित पुडासैनी र राजेश परियारले एक एक गोल गरे ।

आर्मीका लागि दुबै गोल सन्तोष तामाङले गरेका हुन् । तामाङले ईन्जुरी समयमा डि एरियाभित्र पाएको फ्रि किक प्रहारलाई गोलमा बदल्दै आफ्नो टोलीलाई हारबाट जोगाएका हुन् ।

ए डिभिजन लिगको यो संस्करणमा १४ टोली सहभागी छन् । लामो समयको अन्तरालपछि भएको लिग फुटबलमा क्लवहरुले रामे तयारी गर्न नपाएको कारण देखाउँदै एन्फाले यसपटकको लिगबाट कुनै पनि टोलीलाई बि–डिभिजनमा नझार्ने बताइसकेको छ ।