प्रदेश सभामा नेकपा–कांग्रेस अघोषित गठबन्धन

1003
views

काठमाडौं । देशको राजधानी, नामकरण र भाषालाई लिएर विपक्षी दल नेकपा र कांग्रेस एक भएका छन् । दुवै दलले शुक्रबारको संसद् बैठक संयुक्त रूपमा अवरोध गरे । प्रदेशको राजधानी, नामकरण तथा भाषामा नेकपा र कांग्रेसको समान धारणा छ ।

नेकपा र कांग्रेसका सांसदले शुक्रबारको प्रदेश सभामा सरकारको भनाइ र व्यवहार फरक देखिएको भन्दै बैठक अवरुद्ध गरेका थिए । प्रदेश सरकार गठन भएको झन्डै नौ महिना भइसक्दा पनि राजधानी, नाम र भाषाको विषयमा औपचारिक छलफल नगरेको दुवै दलको आरोप छ ।

नेकपाले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने अडान राखेको छ । त्यस्तै मैथिली, भोजपुरीलगायतलाई प्रदेशको भाषा बडाउनुपर्ने उसको भनाइ छ ।

यता कांग्रेस संसदीय दलको नेता रामसरोज यादवले प्रदेशको नाम, राजधानी र भाषाको विषयमा नेकपासँग आफूहरू सहमत हुन सक्ने बताए । ‘अन्य विषयमा नेकपा र हाम्रो धारणा बिल्कुल फरक छ,’ नेता यादव भने, ‘तर, प्रदेशको राजधानी, नामकरण र भाषामा नेकपासँग सहमत हुन सकिन्छ ।’

नेकपाका प्रदेश सांसद तथा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले प्रदेशको राजधानी जनकपुर, भाषा मैथिली र नामकरण मिथिला–भोजपुरालगायत विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । उनले भने, ‘प्रदेशको नामकरण, राजधानी र भाषाको विषयमा सरकारले औपचारिक प्रस्ताव वा छलफल नै गरेको छैन, सरकार यी विषयमा विधेयक ल्याउन डराइरहेको छ ।

यसअघि बजेट ल्याउने क्रममा पनि नेकपा र कांग्रेसले संयुक्त रूपमा प्रदेश सभामा सरकारको विरोध गरेका थिए । त्यतिवेला प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एकदेखि डेढ करोडको आयोजना ल्याउन गरेको भद्र सहमति पूरा नगरेको विपक्षीको आरोप छ ।