निर्मला हत्याकाण्डः अनुसन्धानमा प्रहरीकै लापरवाही

797
views

काठमाडौं २२, असोज । निर्मला पन्तको बलात्कारपछि हत्या प्रतिवेदन सार्वजनिक भएको छ । घटनाको अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्ष निकाल्दै उच्चस्तरीय छानबिन समितिले अब प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको छ ।

छानबिन समितिको प्रतिवेदनमा निर्मलाको शव बरामद भएको स्थान, उनको साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र सामग्रीहरु प्राप्त भएको स्थान तथा आसपास क्षेत्रका अपराधी पहिचानका लागि सहयोग हुनसक्ने गरी तालिम प्राप्त कुकुर प्रयोग नगरेको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनले एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको बयानलाई शंकाष्पद औल्याएको छ । विष्टको वयान अनुसार १० गते २ बजे होटलमा साथी ऐश्वर्या, शिशिर र साथीसँग आएका अन्य केटीलाई आफूले नचिनेको बताएका छन् । सो दिन उनको फेसबुक आईडीमा बर्थडेको शुभकामना दिदीले बाहेक कसैले दिएको छैन भन्ने बेहोरा पनि शंकास्पद रहेको प्रतिवेदनमा छ । छानबिन समितिसमक्ष उनले मृतक निर्मला पन्त, नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी बम र बबिता बमलाई नचिनेको बताएका छन् ।

निर्मलाको बलात्कार र हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको समितिले असोज ९ गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो ।

गृहमन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको सो प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशनी र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको उल्लेख छ । बम दिदिबहिनीको बयान र तथ्य फरकफरक देखिएको भन्दै प्रतिवेदनमा उनीहरुको भूमिकालाई शंकास्पद भनिएको छ ।

बबिता भनिने अनिता बमले घटना भएको दिन (साउन १० गते) आफू ट्युसन पढ्न गएको बयान दिएकी थिइन्। उनले स्थानीय मिराइ एजुकेसन भिसा सेन्टरमा ट्युसन पढ्न गएको बताएकी थिइन्। तर त्यस दिन बबिता त्यहाँ ट्युसन पढ्न नगएको र उनले सञ्चालकलाई ‘यहाँ पढ्न आएकी हो’ भन्न लगाएको तथ्य समितिको छानबिनबाट खुलेको छ । ‘मिति २०७२र४ र १० मा अनिता (बबिता) बम ट्युसन पढ्न आएको एकिन छैन। सो विषयमा प्रहरीले मेरो कापी मगाउन साउन १० गते ट्यूसन पढेको नोटकपीको फोटोकपी गरेर लगेका हुन् भन्ने मिराइ एजुकेसन भिसा सेन्टर मा ट्युसन पढ्ने विद्या पन्तको भनाइ, सो दिन अनिता बम ट्युुसन पढ्न आए–नआएको एकिन नभएको ट्युसन सेन्टर सञ्चालक बाबुराम राउतको भनाई । साथै अनिता बम र निजका बुवा स्वयं सो ट्युसन सेन्टरमा गई सो दिन ट्युसन पढ्न आएको भनी हो भनिदिनु प(यो भनेर गरिएको आग्रहसमेतलाई आधार मान्दा निज अनिता बमको गतिविधि शंकास्पद देखिन्छ,’ समितिको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, छानबिन समितिले आन्दोलनका क्रममा सन्नी खुनाको मृत्यु हुनेगरी गोली चलाउने प्रहरीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

यस्तै, छानबिनलाई प्रभावित बनाउने र हेलचेक्र्याइँ गर्ने प्रहरी, वडा प्रहरी कार्यालयका इन्चार्ज निरीक्षकलगायतलाई पनि अनुसन्धानमा तानी बलात्कार र हत्याको रहस्य पत्ता लगाउन सुझाव दिएको छ । घटनास्थलमा रहेको गन्जी र निलो कट्टु तथा निर्मलाका कपडा पखाल्ने कामले प्रमाण नष्ट गर्न मद्दत पुगेको समितिको ठहर छ ।