प्रदेश प्रहरी सेवा विधेयक पारित

461
views

जनकपुरधाम, २८, असोज । प्रदेश २ मा प्रदेश सभाको शनिबारको बैठकबाट प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित भएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सभामा पेश गरिएको विधेयक पारित गर्नका लागि वैठकमा प्रस्ताव गरेपछि सभामुख सरोजकुमार यादवले विधेयक निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो ।शनिवारको पहिलो बैठकमा प्रदेश प्रहरी सेवासम्बन्धी अध्ययन गर्न प्रदेशसभा सदस्य सुरिता साहको संयोजकत्वमा गठित बिशेष समितिले प्रतिवेदन पेस गरेपछि प्रदेश सभामा प्रतिवेदनमाथि दफाबार छलफल भएको थियो ।

छलफलमा भाग लिएका सत्ता पक्षका प्रदेशसभा सदस्यहरुले प्रदेश प्रहरी नभएको कारण शान्ति सुरक्षा कायम हुन नसकेको भन्दै विधेयक पारित गर्नु पर्ने धारणा राखेका थिए भने विपक्षीदलका सदस्यहरुले विधेयक पारित भएमा संघीय कानुनसँग बाझिने र समस्याहुने बताएका थिए । विधेयकको पक्षमा सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल तथा नेपाली काँग्रेसले सहमति जनाएपछि विधेयक पास भएको थियो ।

नेकपाका प्रदेश सभा सदस्यहरुले प्रदेश प्रहरी विधेयकको विपक्षमा मत जाहेर गरेका थिए । प्रदेश प्रहरी विधेयक प्रदेश सभावाट पारित भएपछि प्रदेश सरकारलाई प्रदेशमा आफ्नो प्रहरी सङ्गठन बनाउने संवैधानिक अधिकार कार्यान्वयनको बाटो खुलेको छ । प्रदेश सरकारले विधेयकमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ ।