कर्णालीमा डुंगा पल्टिँदा दुई बेपत्ता

733
views

महेन्द्रनगर ३०, असोज । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । तीन जना पौडेर बाँच्न सफल भएका छन् ।

सोमबार साँझ पिच्मारीबाट चिसापानी जाने क्रममा मोहन्याल गाँउपालिका–७ को पिच्मारी नजिक डुंगा पल्टिँदा कैलालीकै जोशीपुर गाँउपालिका–५ का २२ वर्षीय समिर बडेला र २३ वर्षीय पुरुषोत्तम चौधरी बेपत्ता भएका छन् ।

डुङ्गामा सवार पाँच जनामध्ये तीन जनाले पौडेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुशान्त हमाल, चक्र बिनाडी र डुंगा चालक पिच्मारीका प्रकाश विष्टले पौडी खेलेर ज्यान जोगाएका हुन् ।

बेपत्ताहरूको मंगलबार बिहानैदेखि सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा खोजी भइरहेको छ ।