रसुवागढीमा राष्ट्रिय झन्डा

1972
views

रसुवा । नेपालकी राजकुमारी भृकुटीको भोटमा विवाह पश्चात आवत–जावत मार्गसमेत रहेको नेपाली सेनाले रसुवागढीमा गढीको संक्षिप्त परिचयात्मक इतिहास उल्लेखित स्तम्भ निर्माण गरेको छ । उक्त स्तम्भमाथि २८.५ फिट अग्लो स्टिलको पोलमा नेपालको राष्ट्रिय झन्डा राखिएको हो ।

वि.सं. १८४५ को नेपाल–भोट युद्ध, वि.सं. १८४९ को नेपाल–भोट–चीन युद्ध र वि.सं. १९१२÷१३ को अन्तिम नेपाल–भोट युद्ध हुँदा आक्रामक र सुरक्षात्मक हिसाबले रसुवागढीको पर्खाल निर्माण गरिएको इतिहास रहेको रसुवागढीमा राखिएको स्तम्भको दायाँबायाँको भागमा गढीको संक्षिप्त परिचयात्मक इतिहास नेपाली र अंग्रेजीमा उल्लेख गरिएको छ ।

ऐतिहासिकस्थल रसुवागढीमा नेपाली सेनाको कालीजंग गणले स्तम्भ र नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको हो । मध्यपृतना हेटौंडाका पृतनापति उपरथी सुर्वणबहादुर साहले रसुवागढीमा प्रतिस्थापन गरिएको नेपालको राष्ट्रिय झन्डा र स्तम्भको उद्घाटन गरिएको छ ।

सेनाले गढीको परम्परागत शैलीलाई कायम राख्दै स्तम्भ निर्माण गरी नेपालको राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको कालीजंग गणका गणपति शीतल बानियाँ क्षेत्रीले बताए । उनले भने, ’गढीमा प्रतिस्थापन गरिएको नेपालको राष्ट्रिय झन्डा अन्तर्रा्ष्ट्रिय नाकामा राखिने मापदण्डअनुसार रहेको छ ।’

रातिको समयमा पनि झन्डा फहराइएको देख्न मिल्ने गरी स्तम्भको माथिल्लो भागमा दुईवटा हेलोजन लाइट राखिएको छ । अब नेपाल र चीनको सीमा क्षेत्र रसुवागढी नाकामा चौबीसै घण्टा नेपालको राष्ट्रिय झन्डा फहराएको देख्न सकिन्छ । करिब ४ लाख ७० हजारको लागतमा नेपालको राष्ट्रिय झन्डा र स्तम्भ निर्माण गरिएको सेनाले बताएको छ ।

स्तम्भ निर्माण गर्न गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोग रहेको छ ।