कम्युनिष्टका भाषणले समृद्धि आउँदैन–डा. महत

1089
views

पोखरा, ९, कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारको आर्थिक नीति, कार्यक्रम तथा क्रियाकलापले मुलुकमा समृद्धिको कल्पना गर्न नसकिने बताएका छन् । नेपाली काँग्रेसको आर्थिक नीति सुझाव संकलनका लागि पोखरामा आयोजित ४ नम्बर प्रदेशस्तरीय गोष्ठीमा बोल्दै महतले भने ‘भाषणले समृद्धि आउने भए र बोलेर हुने भए कम्युनिष्टहरुले देशमा उहिलेदेखि नै ठूला ठूला आश्वासन दिएका थिए ।’

सरकारका अहिलेकै क्रियाकलापबाट देशमा आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै डा. महतले भने ‘‘प्रधानमन्त्रीले भाषणैपिच्छे समृद्धिको कुरा गर्नुहुन्छ, उहाँ कहिले भान्सामा ग्याँस त कहिले बिजुलीको तार जोड्ने कुरा गर्नुहुन्छ तर त्यसको कुनै छाँट छनक जनताले पाउन नसकेकोले अब नेपाली जनताले पत्याउन छोडिसकेका छन् ।’’

सहमहामन्त्री डा. महतले देशको अर्थतन्त्र प्रतिदिन ह्रासोन्मुख हुदै गएको, सरकारले मुलुकको अर्थतन्त्रलाई चलायमान र उर्भर बनाउने खालका नयाँ नयाँ कार्यक्रमहरु ल्याउन नसकेको र सरकारका क्रियाकलाप र उसको आर्थिक नीतिका कारण देशमा समृद्धिको सपना देख्नै कठिन भएको धारणा राखे ।

विपी कोइरालाले विसं २०१० मा नै प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएको स्मरण गर्दै डा.महतले नेपाली काँग्रेसको आर्थिक नीति पनि प्रजातान्त्रिक समाजवादबाटै प्रेरित छ र त्यसप्रति अहिले पनि काँग्रेस प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले काँग्रेससँग जस्तो भिजन कम्युनिष्टका नेता नेतृत्वहरुमा नभएको उनले दाबी गरे ।

प्रजातान्त्रिक समाजवाद भनेको वस्तुको उत्पादन र वितरण हो भन्दै उनले भने– देशमा उत्पादन बढाउने, उत्पादनको पहूँचमा आम नेपालीलाई पु¥याउने अनि त्यो उत्पादनको वैज्ञानिक एवम् समानुपातिक वितरण गर्ने कार्यबाट नै प्रजातान्त्रिक समाजवाद साकार हुन्छ, यो नै नेपाली काँग्रेसको आर्थिक नीतिको मूलमन्त्र हो ।

मुलुकमा कृषि, औद्योगिक र हरेक आर्थिक क्षेत्रको उत्पादन बढाउने काममा काँग्रेसको नीति केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।