महँगीको चपेटामा तिहार हरेक सामानमा मूल्य वृद्धि

929
views

चितवन, कार्तिक १७ हिन्दुहरूको ठूलो चाड तिहार नजिकीए सगै बजारमा तिहारको रौनक सुरू भइसकेको छ । किनमेल गर्नेहरुको संख्यामा बजारमा चाप हुँदै गएको छ । घरायसी सामानदेखि टीका भाइ मसलासम्म पालादेखि मालासम्म किन्नेहरुले बजारका व्यवसायीसँग मोलमोलाइ गर्न सुरू गरिसकेका छन् ।

किराना व्यवसायी संघ चितवनले गत वर्षको तुलनामा यसवर्षको तिहारमा सामग्रीहरुको मूल्य वृद्धि भएको जनाएको छ । किराना व्यवसायी संघका महासचिव रवीन्द्रकुमार श्रेष्ठले गत वर्षको तुलनामा यसवर्ष तिहारका हरेक सामग्रीमा १० देखि १५ प्रतिशतसम्म मूल्य वृद्धि भएको बताए ।
किराना व्यवसायी संघका अनुसार तिहारमा अत्यधिकरुपमा प्रयोग हुने ओखर ६२५ रूपैयाँ किलोसम्म पुगेको छ । गत वर्षको तुलनामा ओखरमा झन्डै २० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
यसवर्षको तिहारमा किसमिस ५५० रूपैयाँ किलो पुगेको छ । त्यस्तै, सुकमेल किलोको गुणस्तर हेरी १७ सयदेखि १८ सयसम्म पुगेको किराना व्यवसायी संघले जनाएको छ ।
ल्वाङ प्रतिकेजी १५ सय पुगेको छ । अन्जिरको भाउ बढेर प्रतिकेजी २ हजार पुगेको छ । यसैगरी, तिहारमा नभई नहुने अर्को चीज काजु पनि हो । काजु किलोको १५ सय ५० रुपैयाँसम्म पुगेको व्यवसायीहरु बताउँछन् । गत वर्षको तुलनामा काजुमा पनि झन्डै २० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
संघका अनुसार नरिवल किलोको ४५० देखि ४७० रूपैयाँसम्म पुगेको छ । दालचिनी किलोको ४०० रूपैयाँ पुगेको छ । किराना व्यवसायी संघका महासचिव श्रेष्ठले अलैँची १२ सय २५ र बदाम १३० रूपैयाँ किलो पुगेको जानकारी दिए । यसअघि अलैँची एक किलोको एक हजार रूपैयाँ र बदाम १०० रूपैयाँमा पाइएको थियो ।
‘भाइ मसला, माला, पालाहरुमा पनि केही न केही भाउ बढेकै छ’, महासचिव श्रेष्ठले भने, ‘भाउ बढेर पनि हुन सक्छ तिहारको चहलपहल गत वर्षको तुलनामा बजारमा कम छ ।’ सर्वसाधारणलाई तिहार मनाउनै कठिन पर्ने गरी मूल्य वृद्धि भएको उपभोक्ताहरुको भनाइ छ ।
यसवर्ष तिहार गत वर्षको तुलनामा केही ढिला भित्रेको छ । किसानहरुले मानो रोपेर मुरी उब्जाउने बेला पनि यही बेला हो । किराना व्यवसायी संघका महासचिव श्रेष्ठले भने, ‘तिहार धानको चटारोको समयमा परेको हुनाले पनि होला बजारमा तिहारको चहलपहल कम छ ।’ उनका अनुसार गएका वर्षहरुमा तिहार आउन १० दिन बाँकी हुँदादेखि नै बजारमा चहलपहल सुरू हुन्थ्यो ।
तिहारका सामग्रीहरु बेच्ने व्यवसायीहरु आफ्नो खरिद नै महँगो परेको हुनाले उपभोक्ताहरुलाई पनि महँगोमा बेच्न परेको बताउँछन् । भृकुटीपथका थोक बिक्रेता टेकप्रसाद पनेरूले वीरगन्ज, भैरहवाबाट सामान खरिद गर्दा नै महँगो परेको बताए । उनले भने, ‘खरिदै महँगो परेपछि भाउ घट्ने कुरा नै आउँदैन, बढाएरै बेच्न प¥यो ।’ डलरको मूल्यमा भएको वृद्धिका कारण पनि सामानको भाउ बढेको व्यवसायीहरु बताउँछन् ।
फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष प्रकाश पन्तले मालामा पनि यसवर्ष २० प्रतिशतसम्म मूल्य बढेको बताए । उनले भने, ‘घट्ने त कुरै छोडौँ, सबैको मूल्य बढ्दा मालाको पनि बढ्ने नै भयो ।’