पत्नी सीताको उपचारका लागि तातोपानी कुण्डमा प्रचण्ड टोली

818
views

म्याग्दी । पत्नी सीता दाहालको उपचारका लागि पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल (नेकपा) का अध्यक्ष लगायतको टोली तातोपानी कुण्डमा स्नानका लागि म्याग्दी आएको छ । टोलीले सोमबार तातोपानीमा स्नान गरेका थिए । पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा समेत सहभागी छन् ।

म्याग्दीको बेनीनगरपालिका ४ स्थित तातोपानी कुण्डमा उनीहरुले स्नान गरेका हुन् । उनीहरुले ६दिनसम्म स्नान गर्ने जनाइएको छ ।

स्नानपछि मंगलबार अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले रघुगंगा गाउँपालिका–३ तिल्केनी चौर स्थित म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका हुन् ।

आजै प्रचण्ड सहितको टोलीले गलेश्वर मन्दिरको दर्शन समेत गरेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापालाई स्वागत गरेका थिए ।

प्रचण्ड र थापाले मन्दिरका पुजारीबाट फुलप्रसाद र टिका ग्रहण गर्नुभएको थियो । विशिष्ट व्यक्तिको भ्रमणले गलेश्वरको प्रचारप्रसार र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रचण्ड र थापाले सदरमुकाम स्थित बेनी बजार संरक्षण आयोजनाको पनि अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डसँग पत्नी सीता दाहाल सहित छोरी तथा स्वकीय सचिव गंगा दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ छन् । प्रचण्डका साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला थापा पनि तातोपानी आएका छन् ।