निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बिरामी जाँच

733
views

सविता शर्मा
पोखरा, २ मंसिर । पोखरा घारीपाटनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा पाँचसय भन्दा बढी विरामीले निशुल्क स्वास्थ्य जाँच गराएका छन् । पोखरा ७ का विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब लगायतका संघ, संस्थाको आयोजनामा शनिबार पोखरा १७ घारीपाटनमा भएको शिविरमा ५ सय २ जना विरामीले स्वास्थ्य जाँच गराएका हुन् । शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धीका बिरामीहरुको रक्त परीक्षण गरिएको थियो ।

कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. तारा कोइरालाले मधुमेह, थाइराइड, खराब बोसो जस्ता जाँचले धेरै रोग लाग्ने मुहान नै बन्द गर्न सघाउने बताए । उनले विकासोन्मुख देशहरु यस प्रकारका नसर्ने रोगबाट आक्रान्त हुँदै गएको उल्लेख गरे । उनले भने, ‘खानपान, जीवनशैली अस्वस्थ भएकै कारण धेरै रोग लागेका छन् । पैसा कम भए पनि चिन्ता, अरु गाडी राम्रो देखे पनि चिन्ता । यसले हामीमा तनाव बढ्दै गएको छ ।’

पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले सरकारले गर्नुपर्ने काम वडावडामा सामाजिक तवरबाट हुनु र त्यसलाई निजी ल्याबले सघाउनु सराहनीय भएको बताए । उनले स्वस्थ्य नागरिकबिना समृद्धिको कल्पनासमेत गर्न नसकिने उल्लेख गरे ।

नागरिकलाई स्वस्थ बनाउने जिम्मेवारी वहन गर्दै समुदायसँग हातेमालो गरेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । उनले भने, ‘ अहिलेसम्म ३५ हजार भन्दा बढीलाई निशुल्क सेवा दिएका छौं । थाइराइड जस्ता महंगा जाँच पनि सित्तैमा उपलब्ध गराएर सबैसम्म सेवा पु¥याउन खोजेका छौं ।’ कार्यक्रममा पोखरा ७ का वडा सदस्य प्रभा पन्त, घारीपाटन आमा समूहका अध्यक्ष पवित्रा जिसी, राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष रुद्रनाथ अधिकारी, नेकपाका पुरुषोत्तम रेग्मी र कांग्रेस पोखरा ७ का वडा सभापति नवीन बरालले बोलेका थिए ।

शिशिर पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको हो । शिविर तीनकुने टोल विकास संस्था, प्रगति टोल विकास संस्था, राधाकृष्ण टोल विकास संस्था, घारीपाटन टोल विकास संस्था, प्रगतिनगर टोल विकास संस्था, घारीपाटन जागृति आमा समूह, घारीपाटन आमा समूह, सक्रिय दलित महिला समूह, अरुणोदय युथ क्लब र फेन्स क्लबले संयुक्त रुपमा आयोजना गरेका हुन् ।