गाउँ जाँदैनन् वडा अध्यक्ष

750
views

महेन्द्र जिसी
पर्वत, २ मंसिर । सरकारले गाउँ गाउँमा सिँहदरवारको अधिकार प्रत्यायोजन गरेको छ । तर, गाउँ तहका कार्यालयहरु वडा तहसम्म पुगेका छैनन् । वडा अध्यक्ष सदरमुकाम केन्द्रीत छन् । पर्वतका विभिन्न वाडाको सेवा लिन सेवा ग्राहीहरु सदरमुकाम नै धाउनुपरेको छ ।

जन प्रतिनिधिहरुले राजनीतीक भेला गोष्ठी समारोह र व्यावसाय सदरमुकाममा रहेको भन्दै सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्ने गरेका कारण सेवाग्राहीहरु मर्कामा परेका छन् ।

कुश्मा नगरपालिका वडा नं–३ काफल चौरको दुर्लुङको सम्पर्क कार्यालय सदरमुकाम स्थित वडा नं ४ दुर्लुङ चोकमा भाडामा राखिएको छ । फलेवास नगरपालिका–११ पाङराङका वडा अध्यक्ष शेर बहादुर सुनुवार कुश्मा नगरपालिका–५ व्यवसाय गरेर बसेका उनले दिने सेवा पनि कुश्मा नै रहेको छ ।

वडा अध्यक्षहरुले सदरमुकाम नछाड्ने भएपछि आँफुहरु पनि सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर सदरमुकाममा बस्दै आएको वडा सचिवहरुको भनाई छ ।

वडा सचिव तोयानाथ शर्माले वडामा भन्दा वडा अध्यक्षको सदरमुकाममा नै बाक्लो बसाई भएका कारण सेवाग्राहीको सहजताका लागि सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरिएको बताउँछन् ।

सदरमुकामबाट दिन भरको यात्रा तय गर्नु पर्नें वडाले वाडा कार्यालय सदरमुकाममा सारेपछि सेवा ग्राहीले सास्ती पाएका छन् ।

फलेवास नगर पालिका–११ पाङराङका बासिन्दाले पनि कुश्मा नगरपालिकामा आएर वडा अध्यक्षको सिफारीस लिनुपर्दा सास्ती पाएको बताउँछन् । वडा अध्यक्ष शेर बहादुर सुनुवारले घर नै सदरमुकाममा भएका कारण धेरै सेवाग्राही कुश्मा आउने भएपछि घरबाटै सेवा दिँदै आएको बताउँछन् ।

गाउँ गाउँमा सिंहदरबार भन्दै वडा तहमा ३५ सेवाको जिम्मेवारी सहीत वडा कार्यालय सञ्चालनमा ल्याइएको भएपनि जनप्रतिनिधिको जवाफदेहीतामा कमी आउँदा वडा कार्यालय सदरमुकाम बाटै सञ्चालनमा रहेका हुन । संघियता कार्यान्वयमा आएको दुई वर्ष पुग्न लाग्दा समेत वडा तहमा कर्मचारीहरु पुग्न सकेका छैनन् ।