पोखरालाई शैक्षिक गन्तव्य बनाउन महानगरको जोड

741
views

सबिता शर्मा
पोखरा, ४, मंसिर । पोखरा महानगरपालिकाले पोखरालाई पर्यटन र शैक्षिक गन्तवयका रुपमा विकास गर्न लागि परेको छ । शैक्षिक विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डको सहकार्यमा शैक्षिक गन्तव्यका रुपमा विकास गर्न लागेको महानगरका मेयर मान बहादुर जिसीले बताए ।

महानगरलाई शैक्षिक रुपमा विकास गर्न शिक्षा योजनाबारे फिनल्याण्डसँग छलफल समेत भएको छ । नेपालका लागि फिनल्यान्डका राजदूत पे्रती एन्टिनेनसहितको १५ सदस्यीय टोलीले महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतसँग सोमबार छलफल गरेको छ ।

छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिदैं मेयर जिसीले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउनका साथै महानगरले शिक्षा कार्यविधि बनाइसकेकोले सीमित स्रोत साधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिन गरी काम अगाडि बढाएको बताए ।

कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले शिक्षालाई प्राथमिकता दिदैं महानगरले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताएकी थिईन् ।

छलफलमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शिक्षामा सुधार ल्याउन महानगरले गरेका काम र योजनाको बारेमा राजदूतलाई जानकारी गराएका थिए । उनले शैक्षिक सत्र २०७६ देखि महानगरका भित्रका विद्यालयका कक्षा कोठालाई धुलो मुक्त बनाएर सेतोपाटी राख्ने बताए । उनले पोखरामा २ सय ११ सामुदायिक र १ सय ७८ वटा संस्थागत विद्यालय भएको जानकारी दिएका थिए ।