मेलम्चीकाे काम छिटो सक्न मन्त्रालयलाई निर्देशन

570
views

काठमाडौँ, मङ्सिर १७ प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले अविलम्ब स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

‘मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकाभित्र खानेपानी उपलब्ध गराउने भनी पटक पटक प्रचार गरिएको र निर्धारित समयावधिभित्र पानी वितरण कार्यमा ढिलाइ भइरहेको हुँदा जनतामा विभिन्न आशंका उत्पन्न भएकाले शीघ्रातिशीघ्र निर्माण कार्य सम्पन्न गरी उपत्यकाबासीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को स्तर अनुसार पानी उपलब्ध गराउन खानेपानी मन्त्रालयलाई निर्देश दिने निर्णय गरिएको छ,’ समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको निर्णयबारे जानकारी दिनुभयो ।
यसअघिको बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अबको दुई महिनाभित्र मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभएको थियो । आइतबारको बैठकमा सचिव ठाकुरले भन्नुभयो, “म दाबीका साथ भन्छु अबको ६० दिनभित्र मेलम्चीको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेछ ।” उहाँले थप्नुभयो, “अब एकहजार छसय मिटर मात्र सुरुङ पूरा(फिनिसिङ) गर्न बाँकी छ ।’ विगत दश वर्षदेखि उक्त सुरुङ निर्माण कार्य हुँदै आएको छ ।
मेलम्चीको पानी वितरण गर्न पाइप विछ्याउने कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सुरुको तीन चार महिना पुरानै संरचनाबाट उपत्यकामा पानी वितरण गरिने जानकारी समेत दिनुभयो । सुरुको चार महिनामा एक लाख ८० हजार धारामा पानी पु¥याउने योजना रहेको उहाँले बताउनुभयो । अबको करिब ४० दिनभित्र टनेल ‘फिनिसिङ’ कार्य सम्पन्न हुने र त्यसपछि टनेलमा पानी छोडिने बताउँदै उहाँले पानी छोडिएको बढीमा छ÷सात दिनभित्र सुन्दरीजल आइपुग्ने जानकारी समेत दिनुभयो ।
पहिलो चरणमा जति समय लागे पनि दोस्रो चरणको काम बढीमा तीन वर्षभित्र सकिने दाबी समेत उहाँले गर्नुभयो । पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केको ३४ करोड लिटर पानी काठमाडौँ उपत्यकामा ल्याउने योजना छ ।
मेलम्ची खानेपानी योजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले निर्माण व्यवसायीको ३६ करोड रुपियाँ रकम भुक्तानी दिन बाँकी रहेको बताउँदै उक्त रकम भुक्तानी नगरे निर्माण कम्पनीले पटक पटक काम स्थगित गर्ने चेतावनी दिइरहेको जानकारी दिनुभयो ।
निर्माण कम्पनीलाई नोभेम्बरसम्मको भुक्तानी भइसकेको तर डिसेम्बरबाट भुक्तानी गर्ने अवस्थामा आयोजना नरहेको उहाँले स्पष्ट पार्नुभयो । अहिलेसम्म मेलम्ची खानेपानी आयोजनामा २६ अर्ब रुपियाँ खर्च भइसकेको तथा मेलम्चीको पानी ‘डब्लुएचओ’ गुणतस्तरको हुने जानकारी समेत उहाँले दिनुभयो ।
बैठकमा समिमिका सभापति कल्याणीकुमारी खड्काले मेलम्ची आयोजनालाई समयमै सम्पन्न गर्न मन्त्रालयलाई हरेक प्रकारको सहयोग गर्न समिति तयार रहेको बताउनुभयो ।