बार्सिलोनाको एकपक्षीय जित

844
views

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा लिग लिडर बार्सिलोनाले फराकिलो अन्तरकोे जित निकालेको छ । मेसीको कप्तानीमा रहेको बार्सिलोनाले स्पानियोलमाथि ४–० को एक पक्षीय जित हात पार्न सफल भएको हो ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको सान्दार जितका लागि कप्तान मेसीले २ गोल गरे भने स्वारेज र ओसमान डेम्बेलेले एक–एक गोल गरे । १७ औं मिनेटमा मेसीको गोलमार्फत खेलमा अग्रता बनाएको बार्सिलोनाका लागि २६ औं मिनेटमा डेम्बेलेले गोल गरी अग्रता दोब्बर बनाए । ४५ औं मिनेटमा स्वारेजले गोल गर्दा पहिलो हाफअघि नै बार्सिलोना ३–० ले अघि रह्यो । मेसीले ६५ औं मिनेटमा दोस्रो गोल गरी बार्सिलोना ४(० को जित पक्का गरे ।

यो जितसँगै १५ खेलबाट ३१ अंक जोडी शीर्ष स्थानमा कायम रहेको बार्सिलोनाका लागि शनिबारको ला लिगामा अर्काे फाइदा प्राप्त भयो । यस सिजनमा बार्सिलोनालाई टक्कर दिइरहेको सेभिल्ला शनिबारको खेलमा भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिँदा बार्सिलोनालाई अंकदूरी बढाउने अवसर मिल्यो ।

दोस्रो स्थानमा रहेको सेभिल्लाको १५ खेलबाट २८ अंक छ । शनिबार नै भएको खेलमा आलाभेजमाथि ३–० को जित निकालेको अर्काे प्रतिस्पर्धी टोली एथ्लेटिको मड्रिडले पनि १५ खेलबाट २८ अंक बनाइ अन्तरमा पछि परी तेस्रो स्थानमा छ ।