वडा छाडेर विदेशमा बस्दै अध्यक्ष

863
views

महेन्द्र जिसी
पर्वत २५, मंसिर । सरकारी सेवा सुविद्या लिएका वडा अध्यक्षहरु वडा छाडेर विदेशमा कमाई गर्न थालेका छन् । वडा अध्यक्षको मासिक तलव १८ हजार छ भने सदस्यको ६ हजार ।

पर्वतका दुई वडा अध्यक्ष विदेश गई कमाउन थालपछि वडाको सेवा प्रभावित बनेको छ । सात स्थानीय तह रहेको पर्वतमा दुई गाउँपालिकाका निर्वाचित कार्यपालिका सदस्य नै वैदेशिक रोजगारमा लागेका कारण कार्यपालिकाले निर्णय गर्ने नीति तथा बजेटमा समेत समस्या भइरहेको गाउँपालिकाहरुले जनाएका छन ।

जापानमा व्यवसाय सञ्चालन गरेर बसेका पैयुँ गाउँपालिका–४ का अध्यक्ष महेन्द्र श्रेष्ठ स्थानीय तहको निर्वाचन जितेपछि गाउँमा फर्केका छैनन् । स्थानीयले वडा अध्यक्ष विहीन वडाबाट सेवा लिनु परेको गुनासो गरेका छन ।

यस्तै मोदी गाउँपालिका–१ का गौ प्रसाद गुरुङ पनि हङ्कङ बस्दै आएका छन् । स्थानीय तहको निर्वाचन पछि हङकङ पुगेका उनी अहिले सम्म फर्केका छैनन् ।

स्थानीय कानूनमा व्यवस्था नगरेका कारण पनि वडा अध्यक्षहरुले लापरवाही गर्दै आएको गाउँ पालिकाहरुको भनाई रहेको छ । कार्यकारी अधिकृतहरुले स्थानीय तह सञ्चालन कार्य विधिले सात दिन भन्दा बढी समय बाहीर रहनु परेमा गाउँ कार्यपालिकाहरुलाई जानकारी गराउनु पर्ने बाहेक कती दिन बस्न पाउँछ भन्ने प्रष्ट व्यवस्था नगरेका कारण जनप्रतिनिधिहरुले गाउँ छाडने गरेको मोदी गाउँपालिकाका कार्यकारी अधिकृत कुमान सिँह गुरुङले बताए ।

पैयुँ गाउँपालिका कार्यकारी उज्वल भुसालका अनुसार अध्यक्षको सहमतीमा जानसक्ने व्यवस्था भएपछि कती समयसम्म बस्न पाउने हो काननूनले प्रष्ट नपारेपछि वडा अध्यक्षहरु विदेश लागेका हुन् । वडाअध्यक्षहरु नै वडामा नबस्ने भएपछि गाउँकार्यपालिकाका निर्णहरु अधुरै रहेको गाउँपािलकाले जनाएका छन् ।