डोजर लगाएर रतिखोला दोहन

टिपर देख्छन डोजर देख्दैनन् अनुगमनकर्ता

1189
views

महेन्द्र जिसी
पर्वत । अव्यवस्थितरुपमा गिटी वालुवा झिक्दा मोदी गाउँपालिकामा पर्ने रतिखोला संकटमा परेको छ । सम्बन्धित निकायको मिलेमतोमै खोलामा दोहन बढेको हो । खोलामा एक्साभेटर र डोजर लगाएर ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम रोकिएको छैन् ।

डोजर र एक्साभेटरको प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा निकाल्दा ईन्जिनियर (प्राविधिक) ले डोजर प्रयोग नभएको बताएका छन् । अनुगमन पनि मिलेमतोकै भएकोले खोला दोहनले तिव्रता पाएको स्थानीयको भनाई छ । अनुगमनमा जाने प्राविधिक, ईन्जिनियर, जनप्रतिनीधिले टिपर देख्ने डोजर नदेख्ने गरेको बताउँछन् । 

“अनुगमनमा जाने प्राविधिक, ईन्जिनियर, जनप्रतिनीधिले टिपर देख्ने डोजर नदेख्ने गरेको बताउँछन् ।”


मोदी गाउँपालिकाले ढुङ्गा, ग्राभेल, गिट्टी, बालुवा, रोडा, चोकर आदि उत्खनन् एवं संकलन गर्दा मेसिनको प्रयोग गर्न नपाईने नियम बनाएको थियो । तर ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने जिम्मा पाएको विल्ड वेल कन्ट्रक्सन प्रा.लि.ले सम्झौता मै उल्लेखित नियमको उलंघन गर्दै मोदी गाउँपालिकामा पर्ने रतिखोलाको न्युरेनी वगरमा दोहनलाई तिव्र बनाएको छ ।

नियम विपरीत कन्ट्रक्सनले उत्खनन् गर्दापनि गाउँपालिका मौन बसेको छ । स्थानीयले गाउँपालिकामा पटक पटक दोहनको विषयलाई लिएर डेलिगेसन जाँदा समेत कुनै सुनुवाई गरेको छैन् । ठेकेदारसँगको मिलेमतोका कारण मोदी गाउँपाललिकाले खोला दोहनमा ध्यान पुर्याएको छैन् ।

निश्चित रुपमा ज्याला मजदुर लगाएर ढुङ्गा, गिट्टी, बालुवा निकाल्नुपर्नेमा डोजर लगाएर खोलाको दोहन भइरहँदा गाउँपालिकाको कार्यालय मौन बसेको छ । सरोकारवालाले सरकारी मिलेमतोमा मात्रै यसरी दोहन सम्भव भएको बताएका छन् । 

कामदार र घरेलु औजारको प्रयोग गरी ढुङ्गा गिट्टी बालुवा निकाल्नु पर्ने सम्झौता उलंघन गर्दै कन्ट्रक्सनले मेसिन प्रयोग गरेकोले आवश्यक छानविन र प्रक्रिया थालिने मोदी गाउँपालिकाका प्रशासक प्रमुख गोपाल घिमिरे शर्माले बताए ।

डोजर लगाएर ढुंगा, गिटी बालुवाको अबैध उत्खनन् हुन थालेपछि खोलाको असरमा पर्ने बस्ती, खेत, जलचरहरु समेत संकटमा पर्ने भएपनि वातावरणीय प्रभावको समेत वेवास्था गरिएको छ । यही मंसिर देखी विल्ड वेल कन्ट्रक्सन प्रा.लि.ले दिनदहाडै खोलामा डोजर र एक्साभेटर प्रयोग गरी ढुंगा, गिट्टी, बालुवा निकाल्दै आएको छ ।

मोदी गाउँपालिकाका ईन्जिनियर (प्राविधिक) नविन शाहीले वेल्चा प्रयोग गरी मजदुरले नै गिट्टी बालुवा संकलन गरेको बताउँछन् ।

गाउँपालिकाले जारी गरेको बोलपत्र

सञ्चारकर्मीको निगरानीबाट टाढा रहेको र स्थानीयलाई त्रास देखाएका कारण मनोमानी बढेको हो । रतिखोलाको दोहन बढेपछि स्थानीयले गुनासो गर्न थालेका हुन । मोदी गाउँपालिकाको वडा नं ६ मा पर्ने रतिखोला दोहन हुँदा सम्बन्धित गाउँपालिका, वडा कार्यालय, प्रहरी प्रशासन मौन बसेको स्थानीयको भनाई छ ।