नेष्डोको मुनाफा घट्यो

575
views

महेन्द्र जिसी
पर्वत, १, पुष । पर्वतको कुश्मामा प्रधान कार्यालय राखि लघुबित्त सेवा दिदै आएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको यसबर्षको आर्थिक मुनाफा घटेको छ । नेष्डो नेपालको २४औं वार्षिक साधारण सभामा पेश भएको आर्थिक प्रतिबेदनमा आर्थिक बर्ष गएको आर्थिक बर्ष ०७४/०७५ मा मुनाफा ५० प्रतिशत घटेको हो ।

साधारण सभामा सञ्चालक समितिको तर्फवाट कोषाध्यक्ष सावित्री खत्री क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा २० करोड ५० हजार आम्दानी गरी १७ करोड ३० लाख रुपैयाँ खर्च भई ३ करोड २० लाख रुपैयाँ पुजीगत बचत हुने बताए ।

गत वर्ष ५१ करोड ४९ लाख आम्दानी गरी ३९ करोड ७५ लाख खर्च भई कुल ११ करोड ७३ लाख रुपैयाँ संस्थागत वचत गरेको संस्थाको यस वर्षको आम्दानी ५० प्रतिशत भन्दा कम रहेको देखीएको हो । संस्थाले नेपाल राष्ट्र वैंकवाट इजाजत लिई हालसम्म गर्दै आएको लघुवित्तीय कारोवार नयाँ नेष्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्थामा हस्तान्तरण हुने भएकाले संस्थाको आम्दानी खर्चमा ५० प्रतिशतले कटौती भएको नेष्डो नेपालले जनाएको छ ।

साधारणसभाले यस बर्षका लागि संस्थाले २० करोड १७ लाख ५० हजारको वार्षिक वजेट पारित गरेको छ । संस्थाका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका महासचिव प्रेम प्रसाद पौडेलले वार्षिक प्रगति तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाको नियमित कारोवार वाहेक यस वर्ष रजत जयन्ती विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।

साधारणसभामा संस्थामा स्थापनाकाल देखि सदस्य रही सामाजिक अभियानमा समर्पित जेष्ठ सदस्यलाई संस्थागत सम्मान तथा न्यानो कपडा वितरण गरिएको थियो ।साधारणसभाको अवसरमा पर्वत जिल्लामा एम्वुलेन्स सेवा सञ्चालनको लागि रोटरी क्लव अफ पर्वतलाई पहिलो किस्ता वापत ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

यसै गरी व्रेनट्युमर भई गण्डकी मेडिकल कलेजमा उपचारमा रहेकी रीना शाहीलाई १५ हजार उपचार राहात सहयोग प्रदान गरिएको थियो । साधारणसभामा लघुवित्त प्रमुख विश्ववन्धु प्रसाईले स्वागत, प्रशासकिय अधिकृत इन्द्र खत्री क्षेत्रीले संस्थागत प्रतिज्ञा एवम् मानव शंसाधन अधिकृत इश्वरी प्रसाद शर्माले सञ्चालन गरेका थिए ।