स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछः प्रचण्ड

766
views

बनेपा, १४, पुस । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२ स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

“संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष दाहालले भने ‘अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।”

स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख गर्दै उनले राष्ट्रसेवक कर्मचारीले देशको कुनैपनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिए । उनले खटाएको ठाउँमा जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा गर्नुपर्ने बताउँदै उनले भने “अहिले ऐनहरु बन्दैछन् र कर्मचारीलाई स्थानीय तह, प्रदेश र सङ्घ सबैतिर समायोजन गर्ने नयाँ प्रक्रिया शुरुआत हुँदैछ ।”

कोसीपारि क्षेत्रमा आर्थिक र पर्यटन विकास गर्न सकिने भएकाले त्यसका लागि चौरीखोला र सुनकोसी दोभानमा सयौँ मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना बनाउन सके त्यहाँका जनताको जीवनमा ठूलो परिवर्तन हुने दाहालले बताए ।

यसैबीच नेकपाको ११ दिनदेखि चलेको स्थायी समितिको बैठकले तल्लो निकायसम्म छटो पार्टी एकता हुनुपर्ने र सरकारको काम छिटो भइदिए हुन्थ्यो भन्ने जनताको आवाज र चाहनालाई पूरा गर्न बैठकले ठोस निर्णय गरिसकेकाले त्यसका लागि पुस महीनाभित्र देशैभरि तलैसम्म पार्टी र जनसङ्गठनको एकता गरिसक्ने निर्णय पनि भइसकेको बताए ।