गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता म्याग्दीमा

780
views

म्याग्दी, १५, पुस । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस प्रथम छात्रछात्रा भलिबल प्रतियोगिता–२०७५ शनिबारदेखि सुरु भएको छ ।

‘सु–सम्बन्ध आत्मीयता र सहकार्यको मेल, स्वास्थ्य अनुशासन र सभ्यताका लागि खेल’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको मूल आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको आसन्न २८ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पस र स्ववियुद्वारा सप्ताहव्यापी खेलकुदका साथै विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले रेफ्री संयोजक तेजेन्द्र बानियाँलाई भलिबल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

भलिबल प्रतियोगितामा म्याग्दी जिल्लासहित गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाका क्याम्पसहरुबाट प्रतियोगी खेलाडीहरु बेनी आएका छन् । भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ कुल २४ टिम र छात्रातर्फ हालसम्म ८ टिमले नामदर्ता गराएका छन् ।

गत बुधबारदेखि सुरु भएको सप्ताहव्यापी खेलकुदलगायत प्रतियोगिता अन्तर्गत यसअघि गजल, निबन्ध, निवेदन, तमसुकलेखन, टेबुलटेनिस र बुद्धिचाल प्रतियोगिता सम्पन्न भैसकेका छन् । प्रतियोगितामा अन्धनिशान र छेलो प्रतियोगिता समेत गरिने भएको छ ।