यमनमा हैजाको प्रकोपबाट एक सय पन्ध्र को मृत्यु

816
views

एजेन्सी,०१ जेष्ठ । – द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको अन्तर्रा्ष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले आइतबार जनाएको छ । हैजाको प्रकोपबाट आठ हजार ५०० जना बिरामी परेका र उनीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्वास्थ्य सङ्घसंस्थाहरु यमन पुगेका छन् । हामीले अहिले हैजाको गम्भीर समस्याका रोगीहरुको उपचारमा सहयोग गरिरहेका छौँ, आइसीआरसीका कार्यक्रम सञ्चालक डोमिनिक स्टिलहार्टले बताए । यमनको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्टिलहार्टले अप्रिल २७ देखि शनिबारसम्म ११५ जनाको मृत्यु भएको बताए । मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यमनमा हैजाका कारण ३४ जनाको मृत्यु भएको जनाएको थियो । यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो । यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौँ मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन् । लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ । विश्व खाद्य सङ्गठनका अनुसार यहाँका करिब एक करोड ७० लाख मानिसले आधारभूत खाद्यन्नको अभावमा बाँच्नु परेको छ । यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन् ।