कालिजको अस्थित्व संकटमा, शिखारीको विगविगी

2555
views

निर्मल पौडेल,
पर्वत, २६ पौष । सामुदायिक वन ,पखेरावारी डाँडापाखामा पाईने र देख्न सकिने कालिज अर्थात (वन कुखुरा) पर्वतमा लोपउन्मोख अवस्थामा पुगेको छ । पछिल्लो समय सामुदायिक वनहरुमा शिखारीहरुको विगविगी बढेसँगै कालिजको अस्थित्व संकटमा पर्ने देखिएको हो ।

जिल्लाका समथर भुभाग देखि उच्च लेकाली भुभागका विभिन्न ठाउँ तथा वनहरुमा देखिने कालिज आजभोली देखिन छाडेका हुन् । कालिज मात्र हैन मृग र हरिण पनि उस्तै अवस्थामा पुगेका छन् ।

कुनैपनि वन्यजन्तुको चोरीशिकारी निकासी तथा पैठारी गर्ने कार्य कानुन विपरित भएपनि शिकारी हरुको विगविगी वढेसंगै यस्ता वन्यजन्तुको अस्थित्व संकटमा पर्ने देखिएको छ । जिल्लाको कुस्मा नगरपालिका ७ खरेहाको भड्खोरे सामुदायिक वनमा अहिले सवै वन चाहर्दा पनि एउटा कालिज देख्न नसकिने भड्खोरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेज गिरी कान्छाले वताए । उनि भन्छन् “पहिले यहिँ घरआगनमै देख्ने पाईन्थ्यो कालिज हेर्दामा पनि सुन्दर पंक्षि अहिले सवै वन चाहर्दा पनि कालिजको क समेत भट्न सकिँदैन ।”

सदरमुकाम कुस्मा वजार नजिकै रहेको यस वनमा कालिज मात्र हैन हरिण पनि देख्न छाडिएको छ । वनमा जाँदा चराचुरुङ्गी संगै मृग सावकहरु अगाडि पछाडि लाग्दा छुट्टै आनन्द हुन्थ्यो गरिले थपे अहिले तिनै पशुपंक्षी हरुलाई थापिएका जालपाशा वाहेक केहि फेला पर्दैैनन् । २ दिन अगाडि मात्र वनरक्षक शोभाकान्त शर्माले वनमा कालिजलाई जालमा पार्दै र मार्दै हिड्ने केही व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा भागेको अध्यक्ष गिरीको भनाई छ ।

कुस्मा नगरपालिकाका सामुदायिक वनमा मात्र हैन फलेवास नगरपालिकाका सामुदायिक वनहरुमा पनि वन्यजन्तु हरुको स्थिति यस्तै छ । गिरीलाई जस्तै फ.न.पा. ७ लिमिठानाका भुवानी पौडेल लाई पनि आफ्नो सामुदायिक वनमा कालिज लोप हुँदै जानुले निकै चिन्ता लागेको दुखेसो गरे । “पौडेलका अनुसार आँटिघर सामुदायिक वनमा अहिले कालिज देख्न पाईदैन । पहिले पहिले वन पाखामा जाँदा अगाडि पछाडी चल्ला लिएर हिड्थे, अहिले न कराएको सुनिन्छ न देख्न पाइन्छ । नौलो छ आजभोली । ”कालिज सोझो र लाटो पंक्षी मानिन्छ । साँझ परेपछी खेतवारीका आडहरुमा वास वसाल्नेहरु अझैपनि पाईन्छकी भनेर खोज्दै हिडने गरेको पौडेलको भनाई छ । वजारमा प्रतिगोटा कालिजको ३ हजार देखि ४ हजार रुपैया सम्ममा केहि मानिसहरु विक्रि गदै हिड्ने गरको आँफुले देखेको कुस्मा वजारका एक व्यापारीले वताए ।

कालिज जिल्लाका अन्य गाउँपालिकाहरुमा पनि लोप भैसकेको स्थानियहरुको गुनासो रहेको छ । कालिज साधारण पंक्षीमा पर्ने भएपनि जिल्लामा लोपउन्मोख अवस्थामा पुगिसकेकोले वन्यजन्तुको चोरीशिकारीमा संलग्न जो कोहीलाई पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही हुने वन डिभिजन कार्यलय पर्वतका प्रमुख दधिलाल कडेँलले जानकारी दिनुभएको छ ।