पटक पटक भारतीयको लापरवाही

712
views

श्याम थापा
नवलपरासी (सुस्ता) । पश्चिम नवलपरासीको गण्डक क्षेत्रको नारायणी नदीमा हुने तटबन्ध तथा निर्माण कार्यहरूमा बर्षेनी रूपमा भारतीयहरुले पटकपटक लापरबाही गर्ने गरेको पाइएको छ । सुस्ता गाउँपालिका– ४ नर्सही स्थित नारायणी नदीको ठोक्कर नं. ६ मा भैरहेको ठोक्कर मर्मत तथा तटबन्ध कार्य भारतीय गण्डक कर्मचारी र भारतीय ठेक्दारहरुको मिलोमतो गुणस्तरहीन भैरहेको भन्दै स्थानीयबासीहरुले सो कार्य गर्न दिएका थिएनन ।

अहिले भई रहेको ठोक्कर मर्मत तथा तटबन्ध कार्यको गुणस्तरहीन भैरहेको भन्दै स्थानीयबासीहरुले विरोध गर्दै आइरहेका छन् । स्थानीयले पटक पटक विरोध गर्दै प्रशासनसँग जोडदार माग गरिरहेको बताए । तर, नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले यस विषयमा कुनै गुनासो नआएको बताए ।

स्थानीयको विरोध पछि ठोक्कर न ६ को तटबन्ध कार्यको सिंचाइ विभाग द्वितीय सिंचाइ खण्ड महाराजगन्ज भारतबाट एसडिओ अनिल कुमार सिंहले अनुगमन गर्दा गुणस्तरहिन काम भएको स्वीकार गरे । उनले अनुगमन गरेपनि मर्मतको काम रोकिएको छैन् ।

अनुगमन पछि सिंहले पत्रकारहरुसंग कुराकानी गर्दै नारायणी ठोक्कर न ६ मा भैरहेको जालीद्वारा तटबन्ध कार्य एकदमै गुणस्तरहीन भएको सार्वजनिक गरे । उनले अहिले प्रयोग भईरहेका जालीहरु हटाएर नयाँ जाली बनाएर काम गर्न निर्देशन दिएको बताए ।

नेपाल भारतको सिंचाइ मन्त्रालय तथा नेपाल र भारतको गण्डक सिंचाइ कार्यहरूमा नेपाल र भारतको बीचमा रहेर राजदूतको जस्तो कार्य गर्नका लागि सम्पर्क तथा भु–आर्जन कार्यालय वाल्मीकि नगर भनेर एउटा कार्यालय पनि रहेको छ तर सो कार्यालयले गण्डक क्षेत्रमा भएको सम्पूर्ण कार्यहरूको अनुगमन गर्ने र के कस्तो काम भएको छ भनेर प्रतिबेदन पनि तयार गर्ने जिम्मा भएपनि अनुगमनको पाटोमा कुनै ध्यान दिएको छैन् ।

वि.सं.२०१६ सालमा गण्डक क्षेत्रमा भारतले सम्पूर्ण तटबन्ध तथा निर्माण कार्यहरु गर्ने भएको गण्डक क्षेत्रमा भारतले टेन्डर प्रक्रिया अनुसार कार्य गर्ने गरेको छ ।

सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले आफूले यस विषयमा जानकारी पाएपछि अुनगमन गर्दा निक्कै गुणस्तरहिन काम भएको पाइएको बताउँछन् ।

गण्डक क्षेत्रमा कार्य गराउने भारतीय ठेक्दारहरुको कम्पनी रहने गरेको र नेपाली प्रशासनहरुको अनुगमन कार्य फितलो भएका कारण भारतीय पक्षबाट लापरबाही बढेको गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीका सचिव शैलेन्द्र कुमार शर्माको भनाई छ ।