ओली सरकारबाट जनअपेक्षा पुरा हुँदैन–गजुरेल

1138
views

नवदृष्टि न्युज डेष्क
पर्वत, १८, माघ । शुक्रबार देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले पर्वत जिल्लाका अग्ला पुलहरुको अवलोकन गरेका छन् । अग्ला पुलहरुको अवलोकनपछि पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए । कार्यकर्तासँगको भेटमा नेता गजुरेलले वर्तमान सरकारले जनताका अपेक्षा पुरा गर्न नसकेको बताए ।

उनले सरकार एकातिर र जनताका अपेक्षा अर्कोतिर हुँदै गएको अवस्था औंल्याउँदै जनताका जनजीविकाका विषयहरु ओझेलमा परेको बताए ।

ओली नेतृत्वको वर्तमान लोकतान्त्रिक गणतान्त्रिक सरकार पूर्णतः असफल भइसकेको दावी गर्दै अध्यक्ष गजुरेलले अबको विकल्प जनताको संघीय गणतन्त्र भएको बताए । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका अध्यक्ष गजुरेलले भने क्रान्तिकारी माओवादी अहिले नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको बताए ।

नेता गजुरेलले संसारभरका सर्वहारावर्गका साथै विश्व समुदायसित अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी गतिविधिको विरोध र भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज उठानको आवश्यकता रहेको बताए ।

भेनेजुएलाका निर्वाचित राष्ट्रपति निलोलस मदुरो पदमा बहाल हुँदाहुँदै संसद सदस्य हुवाँ गुएइदोले आफूलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका र उनको त्यस कदमलाई संयुक्त राज्य अमेरिकाले समर्थन दिएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई भेनेजुएलाको राष्ट्रिय सार्वभौमिकतामाथि गरिएको नाङ्गो हस्तक्षेप भएको बताए ।

कार्यकर्ता भेटमा देजमोका प्रदेश संयोजक एवं देजमो नेपालका केन्द्रिय सचिवालय सदस्य केश बहादुर परियारले कम्युनिष्ट नामको ओली सरकार राष्ट्रियता, जनजीविकाका सवालमा गम्भिर नभएको बताए ।