समायोजनबाट आएका २१ शिक्षकको सरुवा वदर

1749
views

महेन्द्र जिसी
पर्वत, १४, फागुन । पर्वत कार्यपालिकाको निर्णय विपरीत कुश्मा नगर शिक्षा शाखाले गरेको शिक्षक सरुवाको निर्णय नगरपालिकाले वदर गरिदिएको छ । शिक्षा शाखाले गत फाल्गुन ३ गते गरेको निर्णयलाई कुश्मा नगरपालिकाले १० गते बदर गरेकोे हो । नगर शिक्षा शाखाले विद्यार्थी नभएका विद्यालयहरु समायोजन गरेर शिक्षकहरुलाई सरुवा गरेको थियो ।

स्थानीय स्वायत्त शासन सञ्चालन कार्यविधिले स्थानीय तह माताहतका शाखाले गरेको निर्णय कार्यपालिकाले सदर गर्नु पर्ने व्यवस्था गरेको छ । तर .शिक्षा शाखाले आँफुखुशी निर्णय गरेर आधारभुत तहका विद्यालयका २१ शिक्षकको सरुवा गरेपनि नगर कार्यपालिकाले बदर गरेको हो ।

नगर पालिका ११ को जनता प्राविमा १ जना विद्यार्थी रहेको विद्यालयका चारजना शिक्षकहरुलाई सरुवा गरेको थियो । नगरपालिकाले उक्त निर्णय उल्ट्याएर व्यवहारिक भन्दा पनि राजनीतिकरण गरेको नगर शिक्षा अधिकारी रुद्र नारायण शर्माले बताए ।

सरुवा विषयमा नगरपालिकाले स्थानीय तह सञ्चालन विपरीत भएको भन्दै निर्णय बदर गरीएको जनाएको छ । नगरपालिकाका शाखा अधिकृत नविन सुवेदीले विद्यालय समायोजन र शिक्षकको सरुवा बढुवा गर्ने अधिकार कार्यपालिकालाई भएकोले शाखाको एकल निर्णय बदर भएको बताए ।

शिक्षा शाखाले जनता आधारभुत विद्यालय, गायत्री आधारभुत विद्यालय, बसन्त आधारभुत विद्यालय, नव जागृती आधारभुत विद्यालय, धवलागिरी आधारभुत विद्यालय, पिपलटारी आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, भगवती आधारभुत विद्यालय, हर्राचौर आधारभुत विद्यालयलाई समायोजन गरी शिक्षक सरुवा गरेको थियो ।

सामाजिक विकास संयोजक कुश्मा ११ का वडा अधयक्ष शिव पौडेलले शिक्षा शाखाका कुनैपनि निर्णय कार्यपालिकाको बैठकबाट नभएको तर, कर्मचारीहरुले आँफुखुशी बदर गरेको हुनसक्ने बताए ।