छिस्ति दुर्घटनाका पीडितलाई जैमिनी नगरको सहयोग

1565
views

सीताराम थापा
वाग्लुङ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले वार्ड नं ८ छिस्तीमा भएको पिकअप जीप दुर्घटनामा ज्यान गुमाएका परिवार तथा घाइतेहरुलाई ३ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।

घटनामा मृत्यु भएकाहरु चारजनाको परिवारलाई किरिया खर्च बापत प्रति परिवार २५ हजार रुपैयाँका दरले सहयोग गरिएको जैमिनि नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए ।

मणिपाल अस्पतालमा उपचाररत जैमिनी नगरपालिका–१ का गंगाराम पौडेल लगायत छिस्ती जीप दुर्घटनाका ८ जना घाइतेको उपचारको लागि नगरपालिकाले २ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको पनि उनले जानकारी दिए ।

जैमिनि नगरपालिका–८ छिस्तिमा यहि फागुन ७ गते छिस्तिको बार्षिक उत्सव सकेर घर फर्कने क्रममा कच्चि सडकमा लाईसेन बिहिन चालकले चलाएर शिक्षक र विद्यार्थीको पिकअप दुर्घटना भई जैमिनि र छिस्ति नै शोकमग्न भएको थियो ।

सो ध.१. ज. ७९१ नम्बरको पिक अप जीप दुर्घटना हुँदा छिस्तिकै चार जनाको मृत्यु भएको थियो भने ११ जना गंभिर घाईते भएका थिए । ब

दुर्घटनामा परि जैमिनी नगरपालिका वडा नम्बर–८ छिस्तीका १९ वर्षीया प्रियंका पुन, ३० वर्षीया तुलसी पुन श्रीस, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो ।

घाइतेहरुको मणिपाल अस्पताल पोखरामा उपचार भईरहेको छ । गंभिर घाईते दुई जना १५ वर्षीया सम्झना पुन र १३ वर्षीय संगम श्रीसलाई अस्पतालको सघन कक्षमा राखेर अहिले पनि उपचार भैरहेको जनाइएको छ ।

१६ वर्षीया विष्णु श्रीसको खुट्टाको अप्रेशन गरिएको छ भने २९ वर्षीया धनकला श्रीस केही दिनमा डिस्चार्ज हुने मणिपाल अस्पतालको सुचना अधिकारीले बताउनु भएको छ ।