शिर्ष नेताहरुको तानतानले कांग्रेसमा लफडा

500
views

काठमाडौं, १५, फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चुलिएको विवाद वाहिर आएको छ । शीर्ष नेताहरुको गुटगत स्वार्थले आन्तरिक कलह तीव्र बनेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका विभाग र समिति गठन प्रक्रिया सुरु गरेपछि काँग्रेसमा झनै लफडा परेको छ ।

पार्टीका समिति र विभागीय प्रमुखहरु आफूअनुकूल बनाउन सभापति देउवाका साथै असन्तुष्ट पक्षका रामचन्द्र पौडेलसहितका नेता सक्रिय छन् । शिर्ष नेताको गुटगत स्वार्थले मंगलबारको केन्द्रीय समिति बैठक समेत प्रभावित बनेको छ ।

आइतबार मात्र पार्टी विधान बहुमतबाट पारित गराएका सभापति देउवाले मंगलबार अनुशासन र नियमावली मस्यौदा समिति गठनका लागि बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएका थिए ।

सभापति देउवाले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा अनुशासन समिति गठन तयारी गरेका थिए । तर बैठक सुरु हुनु पहिला नै नेता पौडेल, कृष्णप्रसाद सिटौलासहितले अनुशासन समिति सहमतिबाट गठन गर्नुपर्ने भन्दै बहुमतबाट निर्णय लिए बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि विवाद झनै छताछुल्ल भयो ।

यता असन्तुष्ट पक्षले अनुशासन समिति पार्टीको न्याय निरुपण गर्ने निकाय भएकाले सबैलाई मान्य हुने व्यक्तिलाई समितिको संयोजक बनाउनुपर्ने भन्दै आङ्दम्बेको नाम अस्वीकार गरेका छन् ।

महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको गणपूरक संख्या पुर्याई बहुमतबाट निर्णय नलिन सभापति देउवालाई आग्रह गरेका छन् ।

महाधिवेशन भएको दुई महिनाभित्र पार्टीका सबै निकाय र समिति गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भएपनि शिर्ष नेताहरुको तानतानले तीन वर्षमा पनि विभागसमेत गठन गर्न सेकका छैनन् ।