कमाउनिष्ट सरकारको विश्वास गुमेको छ–परियार

867
views

स्याङ्जा । फागुन ७ गते प्रदेश नं ४ कास्कीको पोखराबाट उद्घाटित मेची–महाकाली अभियान स्याङजामा पुगेको छ । स्याङ्जाको सदरमुकाम पुतलीबजारमा अभियानले जनसभा सम्पन्न गरेको छ ।

जनसभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सचिवालय सदस्य तथा ४ नं. प्रदेशका संयोजक केशबहादुर परियारले सरकार जनताबाट नाङ्गिइसकेको बताए । उनले वर्तमान सरकारप्रति जनताको विश्वास गुम्दै गएको छ, जव सरकारप्रति जनताको विश्वास गुम्छ तव सरकार परास्त हुन्छ ।

नेता परियारले कम्युनिष्ट नामको कमाउनिष्ट सरकारले सुखी नेपाली, समृद्ध नेपालको नाउँमा लुट मच्याउँदै जनतालाई हैरानी पार्ने काम गरेको बताए । उनले देशमा भइरहेको वेथिति र विसंगतिको पर्दाफास गर्दै आम जनता जनवादी गणतन्त्रका लागि विद्रोहमा आउनुपर्ने बताए ।

नेकपा क्रान्तिकारी माओवादीका पोलिट व्युरो सदस्य समेत रहेका नेता परियारले नेपाली जनताले आमूल परिवर्तनका लागि पटक–पटक ठूला र वलिदानपूर्ण संघर्षहरु गर्दै आएको तर नेतृत्वकै कारण ती वलिदानी, संघर्ष र क्रान्तिलाई सम्झौताको नाममा आत्मसमर्पणमा टुंगिने गरेको बताए ।

नेता परियारले दक्षिणपंथी संशोधनवादी डबल नेकपाको सरकार गठन भएएता देशमा महंगी, तस्करी, भ्रष्टचार, असुरक्षा, हत्याहिंसा, वैदेशिक हस्तक्षेप झन विकराल रुपमा बढेको बताए ।

त्यस्तै वालिङ्गबजारमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य ‘अनुकूल’ले नेपाली जनताको मुक्ति नक्कली कम्यूनिष्टबाट सम्भव नहुने बताए । उनले जनवादी क्रान्ति नै सम्पन्न नभएको मुलुकमा समाजवादको चर्का कुरा औचित्यहिन भएको बताए ।

सभामा बोल्दै अर्का नेता देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नम्बर प्रदेशका सदस्य परशुराम कोइरालाले मुलुक अस्तव्यस्त अवस्थामा रहेको र वर्तमान सरकारलाई माफीयाहरुले चलाएको बताए ।

जनसभामा बोल्ने वक्ताहरुले वर्तमान सत्ता, व्यवस्था र संविधानको विकल्प खोज्ने बेला आएको चर्चा गर्दै त्यसका लागि नयाँ जनवादी क्रान्तिको आवश्यकतामाथि जोड दिएका थिए । साथै, सहिद सप्ताहको सन्दर्भमा २००७ साल, ०२८ साल, ०४६ साल, दशवर्षे महान जनयुद्ध लगायत मुलुकको आमूल परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरुको बारेमा नेताहरुले विशेष चर्चा गरेका थिए ।

स्याङजा जिल्लाको वालिङ्ग बजारमा सम्पन्न कार्यक्रममा देजमो प्रदेश नं ४ का प्रदेश सदस्य तिलक अधिकारीले वाइडवडी काण्ड, निर्मला हत्याकाण्ड, ३३ किलो सुन प्रकरण लगायतका भ्रष्टाचार काण्ड लुकाएर सुखी नेपाली समृद्ध नेपाल हुन नसक्ने बताए । उनले जनतालाई करको भारी बोकाएर सांसद, मन्त्री राष्ट्रपतिलाई हेलिकोप्टर र गाडी खरिदले परिवर्तन आउन नसक्ने बताउँदै नेकपा (क्रान्तिकारी माओवादी) ले महान जनयुद्वका प्रथम शहिद दिल बहादुर रम्तेल लगायत महान शहिदहरुले देखाएको बाटो नविराउने बताए ।