निर्मला हत्या प्रकरणः छ जना प्रहरीसंग बयान लिइदै

586
views

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको घटनामा ८ जना विरुद्ध मुद्दा दायर भएको छ । मुद्धा परेका ८ जना प्रहरी मध्ये ६ जना जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । तर, तत्कालिन एसपी डिल्लीराज विष्ट र डिएसी अंगुर जिसी फरार भएका छन् ।

निलम्बित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का, जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बयानका लागि अदालतमा उपस्थित भएका छन् । निर्मलाकी आमा दुर्गादेवि र दिलिपसिँह विष्टका दाई खडक सिंह विष्ट पनि अदालतमा उपस्थित भएका छन् ।

यातना दिएको तथा प्रमाण नष्ट गरेको आरोपमा प्रहरी बिरुद्ध दायर भएको मुद्धामा बयान लिने कार्य सुरु भएको हो । बुधवार यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालत कञ्चनपुरमा दायर भएको मुद्धामा बयान दिने कार्य बिहिवारदेखि सुरु भएको हो ।

मुद्धा परेका ८ प्रहरीमध्ये ६ जना मात्र बयानका लागि अदालतमा उपस्थित भएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले यातना तथा प्रमाण नष्ट गरेको भन्दै तत्कालिन एसपीसहित ८ जना प्रहरीबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । फरक दुई बिषयमा दायर मुद्धाको बयान कार्य बिहिबारदेखि नै सुरु भएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

अदालतमा उपस्थित भएकाहरुको बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।

गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका– २, की निर्मला पन्तको अर्को दिन साथीको घरको नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।