नागरिकता विधेयक परिमार्जन गर्न माग

सरकार र सीके राउतबीचको सम्झौता राष्ट्रघाती

1074
views

काठमाडौं, २८, फागुन । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध विभिन्न ६ वटा संगठनहरुले “हालै संसदमा प्रस्तुत नागरिकता सम्बन्धी विधेयक परिमार्जन गर्न माग गरेका छन् ।

उनीहरुले नेपालको सार्वभामिक अखण्डता, स्वतन्त्रता र स्वाधीनतालाई आघात सँगै मुलुकको अस्तित्व नै समाप्त पार्ने उद्देश्यले ल्याइएको उक्त विधेयक तुरुन्त फिर्ता गरी राष्ट्रियतालाई समृद्ध पार्ने र सार्वभौमिकतामाथि कुनै आघात आउन नदिने रुपमा सुधार तथा परिमार्जन गरी नागरिकता विधेयक प्रस्तुत गर्न माग गरेका छन् ।

साथै प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतबीच भएको सम्झौतालाई राष्ट्रघाती भएको भन्दै त्यसको समेत खारेजीको माग गरेका छन् ।

क्रान्तिकारी माओवादी सम्बद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, क्रान्तिकारी पत्रकार महासंघ, नेपाल राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संघ, अखिल नेपाल लेखक संघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले सोको विरोध गरेका हुन् ।

संगठनका प्रमुखहरुले एक प्रेस वक्तव्य जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । विभिन्न ६ संगठनका प्रमुखहरुद्वारा जारी संयक्त विज्ञप्तीमा भनिएको छ–“हालै संसदमा प्रस्तुत नागरिकता सम्बन्धी विधेयक नेपालको सार्वभामिक अखण्डता, स्वतन्त्रता र स्वाधीनतालाई आघात पार्ने र मुलुकको अस्तित्व नै समाप्त पार्ने उद्देश्यले ल्याइएको हुँदा हामी उक्त विधेयक तुरुन्त फिर्ता गरी राष्ट्रियतालाई समृद्ध पार्ने र सार्वभौमिकतामाथि कुनै आघात आउन नदिने रुपमा सुधार तथा परिमार्जन गरी मात्र विधेयक प्रस्तुत गर्न माग गर्दछौं । साथैं कुनै पनि प्रकारका राष्ट्रघात गर्ने मनसायका कुनै विधेयक पेश नगर्न पनि चेतावनी दिन चाहन्छौं ।

त्यसगरी भर्खरै राष्ट्रघातमा मुछिएका तथा विदेशी शक्तिबाट परिचालित स्वतन्त्र मधेशी गठबन्धनका संयोजक सीके राउतसँग समाधानको नाममा गरिएको सम्झौता राष्ट्रको विखण्डन गराउने, स्वाधीनतालाई घात गर्ने, दलाल तत्वलाई प्रश्रय दिने र भारतीय विस्तारवादी स्वार्थलाई मलजल गर्ने प्रकारको रहेको हामीलाई लागेको छ ।

आफूलाई राष्ट्रवादी र कम्युनिस्ट भनिने शक्तिको सरकारबाट गरिएको यस किसिमको सम्झौताले देशको सार्वभौमिकता, अखण्डता र स्वाभिमानमाथि ठाडै प्रहार गर्ने काम घोर भत्र्सनायोग्य छ । हामी सो सम्झौता खारेज गरी राष्ट्रियताप्रति सम्मान गर्न अपिल गर्दछौं । र, कुनै पनि प्रकारका राष्ट्रघाती सम्झौता कुनै शक्तिसँग फेरि नगर्न पनि माग गर्दछौं ।

विज्ञप्तीमा अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक संगठन प्रा. जगदिशचन्द्र भण्डारी, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, नेपाल राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संघका अध्यक्ष हुकुमबादुर सिंह, अखिल नेपाल लेखक संघका अध्यक्ष मित्रलाल पंगेनी र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक ईश्वर तिमिल्सेनाले हस्ताक्षर गरेका छन् ।