रोनाल्डोलाई लाग्यो ठूलो धक्का, युभेन्टस बाहिरियो

590
views

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाइनलबाटै इटालियन क्लब युभेन्टस बाहिरिएसँगै सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई ठूलो धक्का लागेको छ । मंगलबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा युभेन्टस डच टोली आजाक्ससँग २–१ को हार व्यहोरी प्रतियोगिताबाट बाहिरिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता युभेन्टसले लिएको थियो । युभेन्टसका लागि रोनाल्डोले २८औं मिनेटमा गोल गरे । त्यसपछि आयाक्सका डोली भान डे विकले ३४औं मिनेटमा बराबरी गोल फर्काए । ६७औं मिनेटमा कप्तान माथिज डे लिटले गोल गर्दै आयाक्सलाई अग्रता दिलाए । माथिजले लास स्कोनेको कर्नर पासमा हेड गोल गरेका थिए । खेलभर सशक्त प्रदर्शन गरेको आयाक्स अन्तिममा बलियो टोली युभेन्टसलाई हराउन सफल भयो ।

यस हारसँगै रोनाल्डोलाई ऐतिहासिक झट्का लागेको छ । पाँच पटक च्याम्पियन्स लिगको उपाधि चुमेका रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट मात्रै ह्याट्रिककसहित चार पटक च्याम्पियन्स लिग जित्ने किर्तिमानी खेलाडी हुन् ।

तर, यसपटक युभेन्टसलाई च्याम्पियन्स लिग जिताउने उनको सपना पुरा भएन । रोनाल्डोले सन् २०१७ मा पूर्व क्लब रियललाई च्याम्पियन्स लिग जिताउँदा फाइनलमा हालकै क्लब युभेन्टसलाई ४–१ गोलले हराएका थिए ।