नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा

1762
views

नुवाकोट । नुवाकोटको ऐतिहासिक स्थल नुवाकोट दरवार क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ । उक्त जात्रा महिना दिनसम्म मनाईन्छ । नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा भव्य रुपमा मनाएको हो । नेपाल सरकारको प्रतिनिधि द्वारे (महेन्द्र कुमार शाही) ले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर हालेपछि सिन्दुरे जात्राको मुख्य रौनक सुरु भएको हो ।

नुवाकोटको सबैभन्दा ठूलो यस मेला सिन्दुरे जात्रा चैत शुक्ल द्धितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र बुढी देवता (देवी भैरबीको आमा) अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ । द्धितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् ।

किम्वदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा दिदी आएको अवसरमा सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुरे जात्रा गरिन्छ ।

भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर यात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्रयाईन्छ । देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनी सहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा र्पुयाएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको हो । द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डंगोललाई विजयको प्रतिक सिन्दुर हालिदिए लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दुर प्रदान गर्ने परम्परा रहेको छ ।

भैरवी मन्दिरको रथ अपरान्ह भैरबीका गुठियार र लच्याङबासीहरुले भैरवी मन्दिर परिसरमा र्पुयाएका थिए । धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवी मन्दिर तर्फ प्रस्थान गराउदाँ श्रीनाथ गण देवीघाटका नेपाली सेनाले सलामी अर्पण सहित भैरवी मन्दिरको निशाना झण्डा पहराउदै बजागाजा सहितले सम्मान गरेको थियो ।तलेजु मन्दिरमा आयोजित भोजमा धामी धमिनीसगै भैरवी मन्दिरको रथ पनि सरिक गराइएको थियो । भोज सम्पन्न पछि धामी धमिनी सहित भैरवी मन्दिरको रथ भैरवी मन्दिर अगाडि राखिने परम्परा रहेको छ ।

औपचारिक रुपमा सिन्दुरे जात्राको रौनक तथा पूजाविधि र औपचारिक समापन भने बैशाख १४ गते हुने सरकारका प्रतिनिधि द्वारे मेहन्द्रकुमार शाहीले जानकारी दिनुभयो । विशेष गरि फागु पुर्णिमाको दिनदेखि सुरु हुने सिन्दुर जात्रा महिना दिन सम्म जारी रहने शाहीले बताउनुभयो ।

बुढि भैरवी देबि भैरबीको आमा र भैरवी मन्दिर परिसरमा ठड्याइएको लिङ्गो ढालेर सिन्दुरे जात्रा सम्पन्न हुने छ । रथ पुगेको केही समय पछाडी धामी (धमिनी, कुमार र गणेशलाई झल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवी मन्दिरमा र्पुयाइएको थियो ।