नेपाली सेनाले दिने तालिम प्रशिक्षणमा विदेशी सेना

1094
views

काठमाडौँ, १०, वैशाख । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ ।

फाईल तस्विर


विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ ।

तीमध्ये प्यारा जम्प, रेञ्जर (कमाण्डो), विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित् सैनिक अभ्यसमा चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डसँग संयुक्त रूपमा सञ्चालन हुँदै आएको छ ।

विदेशी सेनाका लागि नेपालको भू–बनोट, हावापानी र प्रशिक्षण आकर्षक तथा प्रभावकारी

विदेशी सेनाका लागि नेपालको भू–बनोट, हावापानी र प्रशिक्षण आकर्षक तथा प्रभावकारी बन्दै गएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, कमाण्ड तथा स्टाफ कलेजबाट ७९, सैनिक तालिम प्रतिष्ठान खरिपाटीबाट २४, माउण्टेन वारफेयरबाट २७७, जङ्गल वारफेयरमा ६२, प्यारा २१ र शान्तिकार्य तालिम केन्द्र पाँचखालबाट २९० जना विदेशी सैनिकले प्रशिक्षण लिइसकेका छन् ।

राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिलगायत विश्वको बदलिँदो परिस्थति र अवस्थाको विषयमा उच्च अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न सेनाले प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारी गरेको हो ।

विदेशी प्रशिक्षार्थीका लागि प्रत्येक वर्ष भक्तपुर खरिपाटीस्थित सैनिक तालिम प्रतिष्ठानमा चार, स्टाफ कलेजमा १०, माउण्टेन वारफेयरमा सात, जङ्गल वारफेयरमा १३, प्यारा स्कुलमा छ जना गरी ४० वटा कोटा छुट्याएको छ ।
सैनिक प्रवक्ता पाण्डेले छिमेकी राष्ट्र भारत र चीनमात्र नभई अफ्रिकी मुलुकका सेनाको समेत आकर्षणमा नेपाल पर्ने गरेको बताउँछन् ।

भारत, पाकिस्तान, बङ्गलादेश, मलेसिया, चीन, श्रीलङ्का, अमेरिका, बेलायत, दक्षिण कोरिया, नाइजेरिया, लेबनान, केन्या, घाना, म्यानमार, थाइल्याण्ड, इन्डोनेसिया लगायत २० देशका सेनाले नेपालमा सञ्चालित विभिन्न किसिमको प्रशिक्षण तथा अभ्यासमा सहभागिता जनाउँदै आएका छन् ।